दक्षिणकालीमा ७ सय मिटर भिरबाट कार खस्दा ३४ वर्षीय युवकको घटनास्थलमै मृत्यु

काठमाडौं, २९ चैत्र । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको कार सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको छ । उनी सवार ‘बीएबी ५२८१’ नम्बरको कार दक्षिणकाली नगरपालिकाको रानीमडाँडा (केराबारी–सितचोक नजिक) बाट सिधै भिरमा खसेको थियो ।

कार सडकबाट निकै तल खसेका कारण खड्काको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी टोली खटिएको छ । भिरको निकै तल अड्किएको दुर्घटनाग्रस्त कारलाई बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।