कर्णाली नदीको सनकट्टी घाटमा बन्दै गरेको पुल अन्तिम चरणमा : डुङ्गाको जोखिमपूर्ण यात्रा अन्त्य हुँदै, कैलाली र बर्दियाको दूरी छोटिँदै
टीकापुर, ३० चैत्र । कैलाली र बर्दिया जिल्लालाई जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा निर्माणाधीन पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि जोखिमपूर्ण डुङ्गाको सहायताले नदी वारपार गर्नुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दा पुल निर्माण अन्तिम चरणमा पुगेसँगै हर्षित भएका छन् ।
सरकारसँग २०८३ असोज १७ गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै पुल सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम गरिरहेको छ ।
निर्माण कम्पनीका इन्जिनियर धीरेन्द्र सहनीका अनुसार वि.सं. २०७९ पुसमा सम्झौता भएर २०८० बाट सुरु भएको निर्माण कार्य आगामी असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य छ । “सम्झौताको म्याद असोजसम्म भए पनि हामी असार अन्त्यमै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो ।
१४ वटा पिलर रहेको यस पुलका सबै पिलर निर्माण सम्पन्न भइसकेका छन् । हाल १२औँ स्पान (पिलरबीचको भाग) ढलानको काम भइरहेको छ । पुल निर्माणको काम अन्तिम चरणमा पुगेपछि नदीको पानीलाई ‘डाइभर्सन’ गरिएको छ । जसका कारण स्थानीय बासिन्दा अहिले आधा पुल र आधा नदीको बाटो प्रयोग गर्दै आफ्नै सवारीसाधनमा वारपार गर्न थालेका छन् ।
टीकापुरका भरत विकले डुङ्गाको जोखिमपूर्ण यात्रा अन्त्य भएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, “पहिले रकम तिरेर ज्यान जोखिममा राखी डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता थियो । अहिले पुल बन्न थालेपछि आफ्नै गाडीमा हिँड्न पाएका छौँ, यसले हामीलाई धेरै राहत दिएको छ ।”
यसैगरी, जनकबहादुर विष्टले कैलालीका धेरै बासिन्दाको खेतीपाती बर्दियामा रहेको र नियमित आउजाउ गर्नुपर्ने भएकाले पुलले ठूलो सहजता ल्याएको बताउनुभयो ।
सनकट्टी घाटको यो पुलले कैलाली र बर्दियालाई मात्र नभई सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई नै नजिक बनाउनेछ । स्थानीय झपट कडायतका अनुसार पुल सञ्चालनमा आएपछि टीकापुरबाट बर्दिया पुग्ने दूरी करिब २० किलोमिटरले छोटिनेछ ।
बर्दिया गेरुवा गाउँपालिका–१ का करण चौधरीले विगतमा एकतर्फी यात्रा गर्न डेढदेखि दुई घण्टा लाग्ने गरेकोमा अहिले एक घण्टामै दुईतर्फी यात्रा गर्न सकिएको अनुभव सुनाउनुभयो । “आउँदो बर्खाअगावै पुल सञ्चालनमा आए ठूला सवारीसाधन पनि सजिलै चल्नेछन्,” उहाँले भन्नुभयो ।
करिब १ अर्ब १८ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको यस पुलको कुल लम्बाइ ७५२ मिटर रहेको छ । ११ मिटर चौडाइ रहेको पुलमा ७.५ मिटर गाडी गुड्ने भाग (क्यारिज वे) र दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ निर्माण गरिएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले पुलको दुवैतर्फ ५०० मिटर पहुँच मार्ग (एप्रोच रोड) र १ हजार १५ मिटर नदी नियन्त्रणको काम पनि सँगसँगै गरिरहेको छ ।
यो पुल निर्माण सम्पन्न भएसँगै कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पक्की पुलको सङ्ख्या तीन पुग्नेछ । यसअघि २०५० सालमा चिसापानीस्थित कर्णाली पुल र २०७३ सालमा टीकापुर–राजापुर जोड्ने सत्तीघाट पुल सञ्चालनमा आइसकेका छन् ।