भक्तपुरमा बिस्का जात्राको रौनक : कुमाले टोलमा उठाइयो यसिं, बोडेमा जिब्रो छेड्ने जात्राको व्रत सुरु
भक्तपुर, ३० चैत्र । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने प्रसिद्ध बिस्का जात्राको रौनक सुरु भएको छ । जात्राको अवसरमा चैत मसान्तको बिहानै भक्तपुरको पोटरी स्क्वायरस्थित कुमाले टोलमा हात नभएको यसिं (लिङ्गो) विधिपूर्वक पूजा गरी उठाइएको छ । यस यसिंलाई जात्राको अन्तिम दिन आगामी वैशाख ५ गते बिहान ढाल्ने परम्परा छ ।
यसैगरी, आजै दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल पुर्याइनेछ । साँझ भेलुखेलमा नाग–नागिनीको प्रतीक मानिने तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो विश्वप्रसिद्ध यसिं उठाइनेछ । यस यसिंलाई भने वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ ।
बोडेमा जिब्रो छेड्ने जात्राको व्रत प्रारम्भ
मध्यपुरथिमि–८ बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि पनि आज बिहानै यसिं उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र स्थानीयको सहभागितामा तान्त्रिक विधि पूरा गरी यसिं उठाइएसँगै थिमि क्षेत्रका जात्रा एवं पर्व विधिवत् रूपमा सुरु भएका छन् । मठमन्दिरमा मेला लाग्ने र भोज खाने परम्परासमेत सुरु भएको छ ।
स्थानीय दिलकृष्ण प्रजापतिका अनुसार महालक्ष्मी मन्दिर अगाडि यसिं उठाएपछि जिब्रो छेड्ने जात्राको साइत जुरेको मानिन्छ । यहाँ आजै कुमारीको रथ लहीटोलमा पुर्याइन्छ भने राति करिब ९ बजे नीलबाराही जङ्गलबाट ल्याइएको दाउरा बालेर पूजा गरेपछि २८ वर्षीय सुजन वांग श्रेष्ठले जिब्रो छेड्ने जात्राको कठोर व्रत प्रारम्भ गर्नुहुनेछ । उहाँले आगामी वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ ।
व्रत सुरु भएपछि श्रेष्ठले केही खान नहुने तथा महिला र कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नहुने कडा नियम पालना गर्नुपर्छ । मध्यपुरथिमिमा बिस्का जात्राकै अवसर पारेर सिन्दूर जात्रा, विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा र सिद्धिकाली जात्रालगायत भव्य रूपमा मनाउने गरिन्छ ।