भक्तपुरमा विधिवत् रूपमा ढालियो ५५ हाते लिङ्गो, विस्का जात्राको मुख्य रौनक सम्पन्न
भक्तपुर, १ वैशाख । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्राको मुख्य आकर्षण मानिने ५५ हात लामो ‘ल्योसिंद्य’ (लिङ्गो) नयाँ वर्ष २०८३ को पहिलो दिन मंगलबार साँझ विधिवत् रूपमा ढालिएको छ । तान्त्रिक विधिअनुसार पूजाआजा गरी साँझ ५:४९ बजे भेलुखेलस्थित ल्यासिंखेलमा हजारौँ जात्रालुहरूको उपस्थितिमा लिङ्गो ढालिएको हो ।
लिङ्गो ढाल्नुअघि त्यसमा बेरिएका डोरीहरू फुकाउने कार्य गरिएको थियो, जसलाई स्थानीय नेपाल भाषामा ‘वल फेनेगू’ भनिन्छ । वल फेनेगू कार्य सम्पन्न भएपछि चारै दिशाबाट डोरीको सहायताले तानेर लिङ्गो ढाल्ने प्रयास गरिएको थियो । जात्रालुहरूबीच केही समय चलेको तानातानपछि लिङ्गो पश्चिम दिशातिर ढलेको थियो ।
गुठी संस्थान शाखा कार्यालय भक्तपुरले सार्वजनिक गरेको तालिकाअनुसार साँझ ५:०० बजे लिङ्गो ढाल्ने कार्यक्रम रहे पनि प्राविधिक तयारी र भिडका कारण निर्धारित समयभन्दा झण्डै एक घण्टा ढिलो गरी जात्रा सम्पन्न भएको थियो ।
जात्राको तालिकाअनुसार मंगलबार बिहान ६:०० बजेदेखि नै धार्मिक अनुष्ठानहरू सुरु भएका थिए । बिहान ११:०० बजेसम्म श्री भैरवनाथको विशेष पूजा गरिएको थियो भने दिउँसो विभिन्न गुठीहरूले आ–आफ्ना मठ–मन्दिरमा पूजाआजा र प्रसाद वितरण गरेका थिए ।
लिङ्गो ढालिसकेपछि त्यसका डोरीहरू सुरक्षित स्थानमा राखिएको छ भने लिङ्गोलाई खड्ग गुठी कार्यालय भक्तपुरलाई बुझाइएको छ । लिङ्गो ढालिएलगत्तै गःहिटीमा भैरवनाथ र भद्रकालीको भव्य रथ जुधाइने (द्यो ल्वाकिगु) कार्य समेत सम्पन्न गरिएको छ । नयाँ वर्षको पहिलो दिन हुने यो विशेष जात्रा हेर्न भक्तपुरसहित काठमाडौँ, ललितपुर, काभ्रे र मध्यपुर थिमिका हजारौँ मानिसहरू ल्यासिंखेल पुगेका थिए ।
गत चैत २७ गतेदेखि सुरु भएको आठ रात नौ दिन लामो बिस्का जात्रा आगामी वैशाख ५ गते सम्पन्न हुनेछ । जात्राको अन्तिम दिन पोटरी स्क्वायरमा उठाइएको ‘हात नभएको’ लिङ्गो ढाल्ने र साँझ पुनः भैरवनाथको रथ तानेसँगै यस वर्षको बिस्का जात्रा औपचारिक रूपमा समापन हुने परम्परा छ ।