अबिरले राताम्मे मध्यपुरथिमि : उल्लासका साथ मनाइयो ‘सुथसिया’ (सिन्दुर) जात्रा
भक्तपुर, २ बैशाख । अबिरले राताम्मे अनुहार, हातमा धपक्क बलेको चिराग (बत्ती), अनि धिमे र भुस्या बाजाको गुञ्जायमान ताल । बिस्का जात्राको अवसर पारेर भक्तपुरको मध्यपुरथिमिमा आइतबार बिहानैदेखि यस्तै उल्लासका साथ ‘सुथसिया’ (बिहानीको जात्रा अर्थात् सिन्दुर जात्रा) भव्य रूपमा मनाइएको छ ।
थिमिमा मात्र मनाइने यस ऐतिहासिक जात्रामा बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मको उल्लासमय सहभागिता थियो । जात्राका क्रममा टोलटोलबाट देवीदेवता विराजमान गराइएका २६ वटा खट (रथ) लाई बालकुमारी मन्दिर प्राङ्गणमा ल्याएर परिक्रमा गराइएको थियो । परम्पराअनुसार जात्रामा ३२ वटा खट सहभागी गराउने चलन भए पनि पछिल्ला केही वर्षयता २६ वटा खट मात्र सहभागी हुने गरेका छन् ।
आइतबार बिहानै बालकुमारी र कालिका (बालाखु) को खट मन्दिरबाट बाहिर निकालिएको थियो । यसअघि नै मन्दिरमा विष्णुवीर र दक्षिण बाराहीको खट राखिएको थियो । बिहान सिद्धिकालीको खट आफ्ना गणसहित बालकुमारी प्रवेश गरेपछि यो जात्रा विधिवत् रूपमा सुरु भएको थियो ।
परम्पराअनुसार पमाहरूले हातमा चिराग लिएर नाइके प्रधानको अनुमति पाएपछि बालकुमारीको खट उचालिन्छ र दिगुटोलस्थित देवता घरको परिक्रमा गराइन्छ ।
जात्राका क्रममा देवताका खटलाई टोलटोलमा घुमाउँदा स्थानीय बासिन्दाले घरको कौसी, झ्याल र छतबाट अबिर र फूल बर्साएर स्वागत गरेका थिए । एकअर्कालाई सिन्दुर दल्दै, बाजाको तालमा नाच्दै र झुम्दै मनाइने भएकाले यसलाई ‘सिन्दुर जात्रा’ पनि भन्ने गरिन्छ ।
सुथसिया जात्रा मध्यपुरथिमिका विभिन्न क्षेत्रमा बाँडिएर मनाइन्छ । हाल थिमि क्षेत्रमा २३, बोडेमा ७, नगदेशमा १ र टिगनीमा १ गरी छुट्टाछुट्टै स्थानमा खटजात्रासहित सिन्दुर जात्रा मनाउने गरिन्छ । यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोक्ने परम्परा छ ।
जात्राको एउटा रोचक परम्पराअनुसार देवतालाई ‘लायकू दरबार’ भित्र पस्न नदिन लायकू प्रवेशद्वारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्योलगायतका देवगणले बाटो छेक्ने चलन छ । त्यसपछि बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराइन्छ ।
बिहानैदेखि सुरु भएको यो सिन्दुर जात्रा मध्याह्नसम्म चलेको थियो । सुथसिया जात्रा सम्पन्न भएसँगै दिउँसो २ बजेपछि बोडेमा प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मनाइँदैछ ।