सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कति बढ्याे ताेलाकाे ?
काठमाडौं, ३ बैशाख । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढेको हो ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ तोकेको छ । आइतबार सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि उकालो लागेको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ५ हजार २५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार र डलरको विनिमय दरका आधारमा निर्धारण हुने गर्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ८२१ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।