काठमाडौँमा बसपार्क बाहिरबाट सवारी नचलाउन कार्यवाहक प्रमुख सुनिता डङ्गोल निर्देशन, तीन दिने अल्टिमेटम

काठमाडौँ, ९ वैशाख । काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्क बाहिरबाट सञ्चालन भइरहेका सबै लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनलाई तीन दिनभित्र बसपार्कभित्रैबाट सञ्चालन गर्न अन्तिम अल्टिमेटम दिएको छ ।

महानगरले गत चैत २५ गते जारी गरेको सार्वजनिक सूचनालाई अटेर गर्ने यातायात कम्पनीहरूलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यो कडा निर्देशन जारी गरेको हो ।

कार्यवाहक प्रमुख डङ्गोलले एकीकृत यातायात प्रणाली कार्यान्वयनका लागि यो अन्तिम अवसर भएको बताउनुभयो । उहाँले महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरी संयुक्त अनुगमन टोली बनाएर नियमन कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।

सहरी सुरक्षा र यातायात व्यवस्थापनका विषयमा आयोजित छलफलमा कार्यवाहक प्रमुख डङ्गोलले बसपार्कको समस्यासँगै ठमेल क्षेत्रको ध्वनि प्रदूषण, स्पाहरूमा हुने अवाञ्छित गतिविधि र छात्रवास (होस्टल) सञ्चालनमा देखिएका समस्यालाई कडाइका साथ नियमन गरिने बताउनुभयो । “नेपाल प्रहरी र महानगर प्रहरीले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर संयुक्त रूपमा काम थालेपछि व्यवस्थापनमा देखिने गरी सुधार आउनेछ,” उहाँले भन्नुभयो ।
यसैगरी, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले सहरी सुरक्षालाई जनशक्तिभन्दा प्रविधिमा आधारित (सिसीटिभी क्यामरा र डिजिटल सर्भिलेन्स) बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडक अनुशासन र सङ्केतहरूको पालना गराउन महानगर र ट्राफिक प्रहरीबीचको समन्वयलाई अझ मजबुद बनाउनुपर्ने धारणा राख्नुभयो ।

प्रहरीको तथ्याङ्कअनुसार काठमाडौँबाट दैनिक औसत ७०० वटा सार्वजनिक यातायातका साधन बाहिरिने गरेका छन् । तीमध्ये करिब आधा अर्थात् ३५० वटा सवारी साधनले बसपार्क बाहिरै सडकमा पार्किङ गर्ने, यात्रु चढाउने र ओराल्ने गर्छन्, जसले गर्दा सहरमा ट्राफिक जाम र असुरक्षा बढेको महानगरको ठहर छ ।