सार्वजनिक यातायातमा विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत छुट दिन सरकारको कडा निर्देशन
काठमाडौं, ९ बैशाख । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न कडा निर्देशन दिएको छ ।
पछिल्लो समय सार्वजनिक यातायातका चालक र सहचालकले विद्यार्थी परिचयपत्र (आईडी कार्ड) देखाउँदा पनि छुट दिन अस्वीकार गर्ने र उल्टै दुर्व्यवहार गर्ने गरेको गुनासो बढेपछि विभागले सहुलियत कार्यान्वयनमा कडाइ गरेको हो ।
विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई औपचारिक पत्राचार गर्दै विद्यार्थीले पाउने कानुनी अधिकारको पूर्ण पालना गर्न ताकेता गरेको छ ।
इन्धनको मूल्य वृद्धि र भाडा समायोजनको बहानामा कतिपय सार्वजनिक सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको भन्दै ‘हेलो सरकार’ र विभागको गुनासो पेटिकामा उजुरीको चाङ लागेको विभागले जनाएको छ ।
विभागले व्यवसायीहरूलाई पठाएको पत्रमा सरकार र यातायात व्यवसायीहरूबीच वि.सं. २०६५ फागुन २० गते भएको सहमति स्मरण गराइएको छ । सोही ऐतिहासिक सहमतिअनुसार विद्यार्थीहरूले देशभरका सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको सहुलियत पाउँदै आएका छन् ।