पश्चिमी वायुको प्रभावले कतै वर्षा र हिमपात, तराईमा बढ्दो गर्मी

काठमाडौँ, १३ वैशाख । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मुलुकका विभिन्न भागमा मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र हिमाली क्षेत्रमा बदली र वर्षा भइरहँदा तराई क्षेत्रमा भने तापक्रम बढ्ने क्रम सुरु भएको छ ।

हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहेको छ । कोशी, गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा अहिले मध्यम वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसोको पूर्वानुमान
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी भेगमा मौसम बदली रहनेछ । कोशी, बागमती र गण्डकीका केही स्थानहरूमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना रहे पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँचहरूमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ । महाशाखाले ती क्षेत्रमा गर्मी बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

आज राति पनि देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने तराई भेगमा आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश स्थानमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मी र मेघगर्जनसहित हुन सक्ने वर्षाबाट जोगिन महाशाखाले विशेष बुलेटिनमार्फत सचेत गराएको छ ।