गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले अधिकांश ताल, वन्यजन्तुलाई समस्या

महेन्द्रनगर, १५ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुहरू समस्यामा परेका  छन् ।
गर्मीसँगै निकुञ्जभित्रका अधिकांश प्राकृतिक र कृत्रिम तालहरुमा पानीको सतह घटेपछि वन्यजन्तुहरू समस्यामा परेका हुन् । “प्रायः तालहरु गर्मीका कारण सुकिरहेको भएपनि सोलार जडान गरेर पानी भर्ने काम पनि हुन्छ”, निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले भन्नुभयो, “निकुञ्जभित्र शिकारी तालबाहेकका तालहरुमा पानीको सतह निकै कम हुँदै गएको छ ।”
उहाँले बाबा ताल, रानी ताल, सालगौडी ताल लगायतका तालहरु सुक्न थालेको बताउनुभयो । “ताल छेउछाउमा जडान गरेका सोलार जङ्गली हात्तीले भत्काइदिने गर्दा समस्या सिर्जना हुन्छ”, सूचना अधिकारी वाग्लेले भन्नुभयो, “वन्यजन्तुका लागि पानीको व्यवस्थापनमा धेरै तालहरुमा सोलार प्यानल जडान गरेर पानी भर्दै आएका छौँ ।”
विश्वमै बाह्रसिङ्गाको दुर्लभ झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक तालहरु संरक्षण अभावमा पुरिँदैसमेत गएका छन् । यहाँभित्र रानीताल, कालीकिच ताल र शिकारी ताल लामो समयदेखि जलकुम्भीले भरिँदा तालको अस्तित्व नै सङ्कटमा छ ।
“निकुञ्जभित्रका एक दर्जनभन्दा बढी ताल पुरिँदै गएपनि बजेट अभावका कारण सरसफाइ गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “कृत्रिम र प्राकृतिक गरी १२० वटा तालतलैया छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *