जोखिमयुक्त सडकमा आवागमन रोक्न प्राधिकरणको निर्देशन, अवज्ञा गर्ने चालकलाई कारबाही गरिने

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरोका कारण जोखिममा रहेका सडकहरूमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरी यात्रु र सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न देशैभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले स्थानीय वस्तुस्थिति र सडकको जोखिमलाई विश्लेषण गरी आवश्यकताअनुसार यातायात सञ्चालनमा रोक लगाउन आग्रह गरेको हो। साथै, सुरक्षा निकायले गरेको जोखिमयुक्त स्थानमा सवारी नचलाउने निर्देशनको अवज्ञा गर्ने सवारी चालक र सवारीधनीलाई कडा कारबाही गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ।

सोमबार साँझ काभ्रेको रोशी खोलामा पानीको बहाव बढेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा रोक्दारोक्दै अटेर गरी अगाडि बढेका पाँचवटा सवारीसाधन बाढीमा फसेका थिए। पछि सुरक्षा निकायले ती सवारीसाधनमा रहेका ८९ जना यात्रुको राति नै सकुशल उद्धार गरेको थियो।

केही लापरवाह चालकका कारण यात्रुहरूको जीउधनमै गम्भीर जोखिम उत्पन्न भएपछि प्राधिकरणले यो कडा कदम चालेको हो। प्राधिकरणका उपसचिव रामबहादुर केसीले भने, “लापरबाहीपूर्ण ढङ्गले सवारी चलाएर यात्रुलाई जोखिममा पार्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन प्रशासनलाई स्पष्ट निर्देशन दिइएको छ।”

यसका साथै, प्राधिकरणले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने मौसम पूर्वानुमान र प्राधिकरणमार्फत सम्प्रेषण हुने पूर्वसूचना तथा चेतावनीहरूलाई गम्भीरतापूर्वक पालना गर्न सम्पूर्ण सर्वसाधारण र यातायात व्यवसायीलाई अनुरोध गरेको छ।