कञ्चनपुर–कमला सडकमा ढिलासुस्ती: ३ अर्ब लागत बढ्यो, नागरिकलाई धुलो र हिलोको सास्ती

सिरहा, ६ जेठ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत रणनीतिक महत्वको कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्तीले राज्यलाई अर्बौँको अतिरिक्त वित्तीय भार थपेको छ। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित यो आयोजना ६ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा सुरुवाती लागतभन्दा झण्डै तीन अर्ब रुपैयाँ व्ययभार बढेको हो।

नेपाल सरकार र ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ बीच २०७७ असार ११ गते ८६.८३ किलोमिटर सडक विस्तारका लागि सम्झौता भएको थियो। सम्झौताअनुसार २०८० कात्तिकमै सम्पन्न हुनुपर्ने आयोजना हालसम्म तीन पटक म्याद थपिँदा पनि जम्मा ६८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। आगामी असार १६ गते थपिएको तेस्रो म्याद सकिँदैछ, तर ३२ प्रतिशत काम अझै बाँकी रहेकाले चौथो पटक म्याद थप्नुपर्ने निश्चित देखिएको छ।

आयोजना समयमै नसकिँदा परामर्शदाता शुल्क, प्रशासनिक खर्च र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण लागतमा १८.९८ प्रतिशत अर्थात् २ अर्ब ९७ करोड २२ लाख रुपैयाँले वृद्धि भएको छ।

अर्थशास्त्रका प्राध्यापक धरणीधर अधिकारीका अनुसार वैदेशिक ऋण स्वीकृत भएको ६ वर्षसम्म पनि बजेट खर्च हुन नसक्दा राज्यले विना उपलब्धि ‘प्रतिवद्धता शुल्क’ र ब्याजको भार बोक्नुपरेको छ। यसले पुँजीगत खर्च नभई देशको ऋणको भार मात्र थपेको उनी बताउँछन्। १५ अर्ब ६६ करोडको यो आयोजनामा एडिबीको ७१.२२ प्रतिशत ऋण र नेपाल सरकारको २८.७८ प्रतिशत लगानी छ।

आयोजनाका पूर्वी खण्ड प्रमुख नीरज शाक्य र पश्चिम खण्डका सूचना अधिकारी अनुपमकुमार साहका अनुसार कोरोना महामारी, रुख कटानमा ढिलाइ, बिजुलीका पोल र ट्रान्सफर्मर सार्न भएको अवरोध तथा ठेकेदार कम्पनीको आन्तरिक वित्तीय समस्याले काम सुस्त भएको हो। झण्डै तीन महिना काम ठप्प पारेको चिनियाँ कम्पनीले मन्त्रालयको चेतावनीपछि वैशाख १५ देखि मात्र लहान क्षेत्रमा काम पुनः सुरु गरेको छ।

सडक अलपत्र पर्दा सिरहाका लहान, गोलबजार र मिर्चैया जस्ता व्यापारिक केन्द्रहरू नराम्ररी प्रभावित भएका छन्। जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष प्रदीपकुमार गुप्ता भन्छन्, “धुलो र सास्तीका कारण ग्राहक आउन छाडेका छन्, ढुवानी लागत दोब्बर भएको छ। राज्यको गैरजिम्मेवारीले निजी क्षेत्रले दैनिक करोडौँको नोक्सानी व्यहोर्नुपरेको छ।”

राजमार्ग छेउका बासिन्दाहरू वर्षौँदेखि धुलो र हिलोको मारमा छन्। लहानका स्थानीय व्यवसायी सत्यनारायण साह र दिनेश देवका अनुसार धुलोका कारण व्यापार मात्र नभई स्थानीयमा खोकी, दम र एलर्जी जस्ता ‘क्रोनिक’ स्वास्थ्य समस्या देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *