आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै, सुशासन र आर्थिक पुनरुत्थानमा जोड

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण (बजेट) आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै हुनुहुन्छ। नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार सरकारले आज संसद्मा बजेट पेस गर्न लागेको हो।

अर्थ मन्त्रालय सम्बद्ध स्रोतका अनुसार आगामी वर्षको बजेट मुख्य रूपमा सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहनेछ। अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै सरकारले रु. १८ खर्ब ९० अर्बदेखि रु. २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।

यसअघि राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि रु. १८ खर्ब ९० अर्बको बजेट सिलिङ (सीमा) तोकेको थियो। तर, सो सीमाभित्र रहेर बजेट तयार गर्न व्यावहारिक रूपमा कठिन हुने भएपछि सरकारको अनुरोधमा राष्ट्रिय स्रोत अनुमान समितिले बजेटको आकार केही परिमार्जन गरेको बुझिएको छ।

सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजना, नीति तथा कार्यक्रम र विनियोजन विधेयकका प्राथमिकता एवं सिद्धान्तका आधारमा बजेट तयार गरिएको मन्त्रालयले जनाएको छ।

सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, आर्थिक सुधार, उत्पादन वृद्धि तथा सेवा प्रवाहलाई बजेटको केन्द्रमा राखिएको छ। यसका साथै राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक वृद्धि, केही करका दरहरूमा पुनरावलोकन, उद्योगमैत्री नीति, उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन, सूचना प्रविधि, साना तथा मझौला उद्योग र लगानी प्रवर्द्धनलाई बजेटमा प्राथमिकता दिइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *