ललितपुरलाई ‘उज्यालो महानगर’ बनाइँदै: १३ करोडको लागतमा चक्रपथमा स्मार्ट बत्ती जडान

ललितपुर, ९ असार । ललितपुर महानगरपालिकाले महानगरलाई ‘उज्यालो नगर’ बनाउने दीर्घकालीन अभियान अन्तर्गत चक्रपथ खण्डमा आधुनिक स्मार्ट स्ट्रिट लाइट जडान कार्यलाई तीव्रता दिएको छ । सडकको सौन्दर्य बढाउन र रातको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यो परियोजना अघि बढाइएको हो ।

महानगरले दोस्रो चरणको कार्यक्रम अन्तर्गत आफ्नो क्षेत्रभित्र पर्ने ७.९ किलोमिटर चक्रपथ खण्ड (ग्वार्को–सातदोबाटो–एकान्तकुना हुँदै कलङ्कीतर्फ) मा बत्ती जडान गरिरहेको छ ।

परियोजनाका लागि कुल १३ करोड रुपैयाँ खर्च हुने महानगरपालिकाले जनाएको छ । यसमा ललितपुर महानगरपालिकाको १० करोड र नेपाल विद्युत् प्राधिकरणको ३ करोड रुपैयाँ लागत साझेदारी रहेको छ ।

नगरप्रमुख चिरिबाबु महर्जनका अनुसार ७.९ किलोमिटर खण्डलाई पूर्ण रूपमा उज्यालो बनाउन विभिन्न उचाइका पोलहरू जडान गरिँदैछ : ११ मिटर अग्ला ३७१ वटा पोल
८ मिटर अग्ला १९५ वटा पोल
७ मिटर अग्ला २२४ वटा पोल
१२ मिटर अग्ला ६६ वटा मिनीमास्ट (High Mast)

नगरप्रमुख महर्जनले आगामी तीन महिनाभित्र अधिकांश क्षेत्रमा बत्ती सञ्चालनमा आउने जानकारी दिनुभयो । पहिलो चरणमा बालकुमारीदेखि सातदोबाटोसम्म बत्ती बाल्ने तयारी छ भने त्यसपछि क्रमशः अन्य क्षेत्रमा विस्तार गरिनेछ ।

“चक्रपथमा आधुनिक बत्ती जडान भएपछि सडक रातभर उज्यालो रहनेछ, जसले यात्रु र सवारी चालकलाई सहज बनाउनुका साथै दुर्घटनाको जोखिम पनि कम गर्नेछ,” महर्जनले भन्नुभयो । महानगरपालिकाले चक्रपथका साथै भित्री सडक र अन्य मुख्य सडकहरूमा पनि स्मार्ट बत्ती जडान कार्यलाई सँगसँगै अघि बढाइरहेको छ । यस परियोजनाले ललितपुरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा चिनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।