गौरमा ५० लाखभन्दा बढी मूल्यका अवैध मोबाइल सामग्री बरामद

रौतहट, ७ असोज । रौतहटको गौर नगरपालिका–४ टिकुलियाबाट सशस्त्र प्रहरीले रु ५० लाखभन्दा बढी मूल्यका मोबाइलसँग सम्बन्धित सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल र गौर भन्सार कार्यालयका प्रतिनिधिसहितको विशेष टोलीले मङ्गलबार राति स्थानीय भोला साहको घरमा छापा मारेर ती सामग्री बरामद गरेको हो।

विशेष सूचनाका आधारमा पुगेको टोलीले घरमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका मोबाइलसँग सम्बन्धित विभिन्न सामग्री बरामद गरेको रौतहटस्थित सशस्त्र प्रहरी प्रमुख चेतराज जोशीले जानकारी दिनुभयो।

उहाँका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य रु ५० लाख १४ हजार ५०० रहेको छ। घटनास्थलबाट दुई थान मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका मोबाइल सामग्री र मोटरसाइकल गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको छ। प्रहरीका अनुसार बरामद सामग्री कहाँबाट ल्याइएको हो र त्यसमा अन्य को–को संलग्न छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *