कुलेखानीमा तीन ठाउँमा साइरन, जलसतह बढे चेतावनी दिइने

मकवानपुर, ८ असोज । भारी वर्षाको सम्भावनासँगै बाढीको जोखिम न्यूनीकरण गर्न मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन जडान गरिएको छ ।

कुलेखानी जलाशयको बाँध, सिस्नेरी प्रहरीचौकी र इन्द्रसरोवर गाउँपालिकाको कार्यालयमा साइरन जडान गरिएको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतले जानकारी दिनुभयो ।

निरन्तर वर्षाका कारण जलसतह बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी साइरनमार्फत सर्वसाधारणलाई सम्भावित जोखिमबारे सचेत गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

राउतका अनुसार हाल इन्द्रसरोवर जलाशयको जलसतह १ हजार ५२२.२५ मिटर रहेको छ । जलसतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीयुक्त साइरन बजाइनेछ ।

त्यस्तै, जलसतह १ हजार ५२८ मिटर पुगेपछि दोस्रो चेतावनीस्वरूप केही लामो समय साइरन बजाइनेछ । त्यसपछि पनि जलसतह बढ्दै गए निरन्तर लामो समयसम्म साइरन बजाइने व्यवस्था गरिएको छ ।

साइरनको संकेतअनुसार सर्वसाधारणले आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने राउतले बताउनुभयो । सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी नेतृत्वको टोलीले कुलेखानी जलाशय क्षेत्रको स्थलगत निरीक्षण गरी सरोकारवालासँग छलफलसमेत गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागले केही दिन भारी वर्षाको सम्भावना औँल्याएपछि प्रशासनले मकवानपुरवासीलाई आ–आफ्नो स्थानबाट आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । हेटौँडा र आसपासका क्षेत्रमा बिहानदेखि निरन्तर वर्षा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *