पदमार्ग र पूर्वाधारसँगै पर्यटकको रोजाइमा ऐतिहासिक कोटगढी
धार्मिक श्रद्धालु, इतिहास र संस्कृति बुझ्न चाहने तथा घुमफिरका लागि आउने पर्यटकको चहलपहल
काठमाडौँ, असोज १२ । पौवादुङ गाउँपालिका केन्द्रनजिकै रहेको ऐतिहासिक कोटगढी अहिले विगत सम्झाउने स्थल मात्र रहेन, आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा विस्तारै परिचित हुन थालेको छ । संरक्षणसँगै पदमार्ग, मन्दिरलगायतका पूर्वाधार निर्माण भएपछि कोटगढीमा पुग्ने धार्मिक श्रद्धालु, इतिहास र संस्कृति बुझ्न चाहने तथा घुमफिरका लागि आउने पर्यटकको चहलपहल बढ्न थालेको हो ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढीको मौलिकता संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । कोटगढी परिसरमा मन्दिर निर्माणसँगै आगन्तुकका लागि सहज आवागमन हुने गरी सिँढीसहितको पदमार्ग निर्माण भएपछि यस क्षेत्रको आकर्षण थपिएको स्थानीयवासी बताउँछन् ।
पहिले सहज पहुँचको अभावमा सीमित मानिस मात्र पुग्ने कोटगढीमा अहिले पदमार्ग बनेपछि स्थानीयवासीसँगै बाहिरबाट आउने आगन्तुकको संख्या पनि बढ्न थालेको छ । कोटगढीको ऐतिहासिक परिवेश, धार्मिक महत्व र वरपरको प्राकृतिक दृश्यले यहाँ पुग्ने आगन्तुकलाई आकर्षित गर्ने गरेको छ ।
स्थानीयवासी सन्तोष कोइरालाका अनुसार कोटगढीको संरक्षण र पूर्वाधार विकासले यस क्षेत्रको पहिचानलाई थप उजागर गरेको छ । “कोटगढीको विकासले नयाँ पुस्तालाई स्थानीय इतिहास, संस्कृति र पहिचानसँग जोड्ने अवसरसमेत दिएको छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार आगामी दिनमा थप पूर्वाधार निर्माण, विश्रामस्थलको व्यवस्था तथा प्रचारप्रसारलाई प्राथमिकता दिन सके कोटगढी भोजपुरकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ । पर्यटकको आवागमन बढाउन स्थानीय उत्पादन र संस्कृतिलाई समेत पर्यटनसँग जोड्नुपर्ने उहाँको सुझाव छ ।
कोटगढीसम्म सहज पहुँच पुर्याउन गाउँपालिकाले ३५ लाख रुपियाँ बजेट र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहितको पदमार्ग निर्माण गरेको हो । स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित र सहज आवागमन गराउने उद्देश्यले कोटगढी पुग्ने दुईतर्फी मार्गमा सिँढी निर्माण गरिएको छ ।
पदमार्ग निर्माणसँगै कोटगढी परिसरमा धार्मिक गतिविधिका लागि मन्दिरसमेत निर्माण गरिएको छ । धार्मिक आस्थाको केन्द्रका रूपमा विकास हुँदै गएको यस क्षेत्रमा ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने गाउँपालिकाको लक्ष्य छ ।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले कोटगढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले संरक्षणसँगै पर्यटन विकासलाई प्राथमिकता दिइएको बताउनुभयो । “कोटगढी आफैँमा ऐतिहासिक क्षेत्र हो । यसको संरक्षण र विकासमा हामीले विशेष जोड दिएका छौँ,” उहाँले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार पौवादुङमा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थललाई एकअर्कासँग जोडेर योजनाबद्ध रूपमा विकास गर्ने नीति गाउँपालिकाले लिएको छ । सम्भावनायुक्त क्षेत्रको पहिचान गरी पूर्वाधार निर्माण, संरक्षण र प्रचारप्रसारलाई सँगसँगै अघि बढाउने योजना रहेको उहाँले बताउनुभयो ।
“गाउँपालिकाभित्र रहेका सम्भावनायुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा विकास गर्ने नीति लिएका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “कोटगढीजस्ता ऐतिहासिक स्थलको संरक्षण र प्रवद्र्धनले पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेका छौँ ।”
ऐतिहासिक सम्पदाको संरक्षण, सहज पदमार्ग र आवश्यक पूर्वाधार निर्माणसँगै कोटगढीले आफ्नो पुरानो पहिचानलाई पर्यटनसँग जोड्न थालेको छ । स्थानीय इतिहास र संस्कृतिको कथा बोकेको यो स्थललाई व्यवस्थित रूपमा प्रवद्र्धन गर्न सके पर्यटकको आगमनसँगै स्थानीय रोजगारी र आयआर्जनका अवसरसमेत विस्तार हुने अपेक्षा गरिएको छ ।
