चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

जनकपुरधाम, १५ कात्तिक । दीपावली र छठ पर्व नजिकिएसँगै धनुषाको जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल समुदायलाई माटाका परम्परागत सामग्री बनाउन भ्याइनभ्याइ भएको छ। दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार र मट्कालगायत सामग्री बनाउन उनीहरू बिहानदेखि साँझ अबेरसम्म व्यस्त छन्।

कोही माटो मुछिरहेका छन् भने कोही चक्र घुमाएर माटाका डल्लालाई विभिन्न आकार दिइरहेका छन्। चाडपर्वको रौनकसँगै बस्तीका घरआँगनमा माटाका सामग्री बनाउने र किन्नेहरूको चहलपहल बढेको छ।

वर्षभरि सुस्त रहने माटाका सामग्रीको कारोबार दीपावली र छठका बेला बढ्ने आशामा कुमाल समुदाय अहिले उत्पादनमा जुटेको छ। स्थानीय पृतम पण्डितका अनुसार चाडपर्वमा मात्रै माटाका सामग्रीको बिक्री राम्रो हुने भएकाले यो समयमा उत्पादन बढाइएको हो।

कुमाल समुदायका लागि चाडपर्वको समय आम्दानी गर्ने अवसरसँगै पुर्ख्यौली पेसा र संस्कृतिलाई निरन्तरता दिने महत्वपूर्ण अवसर पनि हो। स्थानीय सुन्दर पण्डितले माटो केवल कच्चा पदार्थ नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप, संस्कृति र पहिचानको आधार भएको बताउनुभयो।

स्थानीय अयोधि पण्डितका अनुसार दसैँदेखि छठसम्म माटाका भाँडा बिक्री गरेर खर्च कटाउँदा एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। चाडपर्वमा राम्रो बिक्री हुने भएकाले अन्य काम थाती राखेर उनीहरू माटाका सामग्री उत्पादनमा लाग्ने गरेका छन्।

कुमाल समुदायका अगुवा रामनारायण पण्डितका अनुसार चाडपर्वमा माटाका सामग्रीको माग बढे पनि वर्षभरि यही पेसाबाट परिवारको खर्च धान्न कठिन छ।

प्लास्टिक, स्टिल, आल्मुनियमलगायत आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत माटाका भाँडाकुँडाको बजार खुम्चिँदै गएको उहाँले बताउनुभयो।

कुनै समय पानी राख्न घैँटो, खाना पकाउन हाँडी, पूजामा कलश र दीपावलीमा दियो घरघरमा अनिवार्यजस्तै प्रयोग हुने गरे पनि अहिले आधुनिक सामग्रीले तिनको स्थान लिन थालेका छन्। यसले पुर्ख्यौली पेसा जोगाउन र नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्न चुनौती थपिएको उहाँको भनाइ छ।

माटोसँग जोडिएको परम्परागत सीप, संस्कृति र पेसाको संरक्षणका लागि राज्य, स्थानीय सरकार र उपभोक्ताको सहयोग आवश्यक रहेको कुमाल समुदायले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *