निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमा आदेश आउने
काठमाडौं, २ मंसिर । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका क्रममा बहस सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको हो । बहस सकिएसँगै केहीबेरमा अदालतबाट आदेश आउने तयारी रहेको छ ।
सरकारले गत १८ कात्तिकमा तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र त्यसबाट आफू अन्यायमा परेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
तिहार तथा छठ पर्वको बिदापछि मंगलबार सर्वोच्च अदालत खुलेसँगै कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको थियो ।
