जाँदाजाँदै निवर्तमान सञ्चारमन्त्री भन्नुहन्छ ः  नेपाललाई आइटी हब बनाउनुपर्छ

काठमाडौं, ११ पुस । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्रालयले आज आयोजना गरेको आफ्नो विदाइ कार्यक्रममा उहाँले नेपालको जलवायु, युवा जनशक्ति र शिक्षाको अवस्थाले पनि नेपाललाई ‘आइटी हब’का रूपमा विकास गर्न सकिनेमा विश्वास व्यक्त गर्नुभयो ।

विसं २०७८ असोज २२ देखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री कार्की हिजो नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै आज पदमुक्त हुनुभएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकोसमेत जिम्मेवारी लिनुभएका कार्की हालसम्म जलस्रोतलगायत मन्त्रालयको जिम्मेवारीका साथ चारपटक मन्त्री बन्नुभएको छ । उहाँ गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको थियो ।

जाँदाजाँदै कार्कील भन्नुभयो, “जलस्रोत, पर्यटन र पूर्वाधारको विकाससँगै मुलुकले विकासको गति लिएको आभास भएको छ, हामी सबै मिलेर त्यसलाई पूर्णता दिनुपर्छ ।” उहाँले राजनीतिक आस्थाभन्दा माथि उठेर देश र जनताका निम्ति स्थायी सरकारकैरूपमा काम गर्न निजामती कर्मचारीलाई आग्रह गर्नुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले निवर्तमान मन्त्री कार्कीले मन्त्रालयको जिम्मेवारी लिएपछि मन्त्रालयको ९५ प्रतिशत कामकारवाही डिजिटल माध्यमबाट गर्न सफल भएको बताउनुभयो ।