रूपन्देहीकाे देवदहमा पहिलोपटक कथिन चीवर दान, २० भिक्षु–भिक्षुणीलाई चिवर अर्पण
रूपन्देही, १६ कात्तिक । रुपन्देहीको देवदहमा तीनमहिने वर्षावास पूरा गरेका भिक्षु तथा भिक्षुणीलाई पहिलोपटक कथिन चीवर दान गरिएको छ ।
यशोधरा भिक्षुणी विहार देवदह र त्रिरत्न वन्दना पुचः बुटवलको संयुक्त आयोजनामा आइतबार कार्यक्रम भएको हो । विहार व्यवस्थापन समितिका सचिव तिलविक्रम बुढाथोकीका अनुसार कार्यक्रममा २० जना भिक्षु तथा भिक्षुणी सहभागी थिए ।
विहारमा श्रीलङ्काका चन्दनन्द भन्ते र अमेरिकाका श्रामणेर सुमनाले वर्षावास गर्नुभएको थियो । कार्यक्रममा देवदह, बुटवल, काठमाडौँ तथा देशका विभिन्न स्थान र भुटानबाट आएका उपासक–उपासिकाको सहभागिता थियो ।
कार्यक्रममा वक्ताहरूले बुद्ध शिक्षाले मैत्री, करुणा, अहिंसा र सद्भावको भावना विकास गर्न प्रेरित गर्ने बताउनुभयो । बौद्ध शिक्षाका ज्ञाता टङ्क सुनारले कथिन चीवर दानलाई सङ्घप्रतिको श्रद्धा, त्याग र पुण्य सञ्चयसँग जोडिएको महत्वपूर्ण धार्मिक परम्पराका रूपमा व्याख्या गर्नुभयो ।
थेरवाद बौद्ध परम्परामा वर्षावास पूरा गरेका भिक्षु–भिक्षुणीलाई चीवर अर्थात् वस्त्र दान गर्ने परम्परालाई कथिन चीवर दान भनिन्छ । यो दान वर्षावास समाप्त भएपछि आश्विन पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म गरिन्छ ।
बौद्ध परम्पराअनुसार कथिन चीवर दानको सुरुआत भगवान् बुद्धकै समयमा भएको मानिन्छ । देवदहमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले स्थानीय बौद्ध संस्कृति र आध्यात्मिक परम्पराको संरक्षण तथा बुद्ध शिक्षाको प्रचारप्रसारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
