भिमसेन मन्दिरको पसल जबर्जस्ती बन्द गराएकोमा बालेनलाई सर्वोच्चको अर्को आदेश

काठमाडौं, २७ पुस । बिना सोचबिचार हचुवाका भरमा काम गर्दै हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले फेरि अर्को कारण देखाउ आदेश जारी गरेको छ ।

काठमाडौं महानगरपालिकाले गत हप्ता नगर प्रहरी लगाई वडा नं. २० को भिमसेनथानस्थित प्रशिद्ध भिमसेन मन्दिरको भुइँ तलामा रहेका पसल कवलहरू बन्द गराएका थिए । त्यस विरुद्ध मन्दिरका सञ्चालक जयराम मल्ल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए भने त्यसै रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मनपालाई कारण देखाउ आदेश जारी गरेको हो ।

साथै मन्दिरको भुइँ तलाका पसल कवलहरू बन्द गराउने महानगरपालिकाको निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ ।

सर्वोच्च अदालतमा यस विषयमा परेको रिटमाथि भएको वहस पश्चात सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले उक्त अन्तरिम आदेश जारी गरेको हो ।

अदालतबाट अन्तरित आदेश जारी भएपछि मन्दिर मुनिका पसलहरू पनि पुनः खोलिएका छन् । मन्दिरको भुइँ तलामा राखिएका ती नै पसल कवलबाट प्राप्त हुने भाडाबाट भिमसेन जात्रा र पचली भैरव जात्राका लागि खर्च जुटाउने काम भइरहेकाले ती पसल कवल बन्द गरिए परम्परादेखि चल्दै आइरहेको जात्रा सञ्चालनमा समेत समस्या उत्पन्न हुने भनी सर्वोच्चले पसल कवलहरू बन्द नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

भिमसेन मन्दिरमा उक्त पसल कवलबाट आउने भाडा स्थानीय जयराम मल्ल, श्यामकृष्ण मल्ल र प्रचण्ड मल्ल नामका तीन जना ‘थकू जुजु’ हरूले चलाउँदै आइरहेका थिए । थकू जुजु भनेका यो ठाउँको मल्लकालीन स्थानीय प्रशासक हुन् । अहिले यिनीहरूको कुनै प्रशासनिक अस्तित्व नरहे पनि सांस्कृतिक, धार्मिक रूपमा भने उनीहरूको अझै पनि मान्यता रहेको पाइन्छ ।

पसलको भाडा उठाइरहेका पूर्व थकू जुजुहरू अहिले पनि पचली भैरव जात्रा लगायत भिमसेनसँग सम्बन्धित विभिन्न धार्मिक क्रियाकलापहरू गरी करिब २० वटा जति गुठी र धार्मिक कार्यहरूमा संलग्न छन् । ती धार्मिक सांस्कृतिक कार्यका लागि आवश्यक हुने केही खर्च उनीहरूले यही पसल भाडाबाट प्रयोग गरिरहेका छन् ।

यी तीन जना पूर्व थकू जुजुहरूले बाँडेर लिइरहेको यो भाडामा आफूलाई भाग नदिएपछि उनीहरुकै नातेदार शिवसुन्दर कर्माचार्यले महानगरपालिकामा उजुरी हालेका थिए । उजुरीकर्ता कर्माचार्य मल्ल त्रयकै भान्जा हुन् । कर्माचार्यले आफ्ना मामाहरूले बाँडीचुडी लिइरहेको पसल भाडामा आफ्नो पनि भाग खोजेपछि विवाद शुरु भएको स्थानीय बताउँछन् ।

उनको उजुरी पछि महानगरपालिकाले नगर प्रहरी पठाई मन्दिरको पसल बन्द गराई त्यहाँ ताला ठोकेका थिए । महानगरपालिकाको ताल लागेपछि उजुरीकर्ता कर्माचार्यले पनि त्यसैमाथि अर्को ताला लगाएका थिए । सर्वोच्चको आदेश आएपछि पनि कर्माचार्य ताला खोल्न मानेका थिएनन् । उनलाई प्रहरी लगाई ताला खोल्न लगाएको थाहा भएको छ ।

स्मरणीय छ, काठमाडौं महानगरपालिकाले यसभन्दा अघि यस्तै हतारमा गरेका कतिपय कार्यलाई सर्वोच्च अदालतको आदेशले रोकेको थियो । यस अघि महानगरपालिकाले काठमाडौंको टुकुचा खोला खोल्न भन्दै ठाउँ ठाउँमा चलाएको डोजरलाई पनि स्थानीय जनताको प्रतिरोध र सर्वोच्च अदालतको आदेशले रोकिदिएको थियो ।

त्यस्तै थापाथलीस्थित सुकुम्बासी वस्ती हटाउन उनले बिना तयारी चालेको कदमलाई पनि भूमि आयोगले रोकेको थियो ।

त्यसै गरी कामपा २५ वडास्थित बांगेमुढा टोलमा स्थानीय टोलवासीले बनाएको ‘त्वाःछेँ भवन’ भत्काउन पनि महानगरपालिकाले हतारमा डोजर चलाएको थियो । पछि त्यसलाई पनि स्थानीय जनताको विरोध र सर्वोच्च अदालतको आदेशले रोकेको थियो ।