सहमति अनुसार गृह रास्वपालाई नै दिनुपर्छः ओली
काठमाडौं, १९ माघ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालयको जिम्मेवारी सत्ता गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढनु पर्ने बताउनु भएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘सहमति अनुसार गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्छ,’ सञ्चारकर्मीहरुको जिज्ञासामा ओलीले भन्नुभयो, ‘त्यसपछि गृहमन्त्री कस्लाई बनाउने भन्ने कुरा उही पार्टीमा भर पर्ने कुरा हो ।’
पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले अदालतको पूर्णपाठ आएपछि मात्रै गृहमन्त्रालयको बारेमा टुंगोमा पुग्ने बताइरहेका बेला अध्यक्ष ओली रास्वपालाई गृह मन्त्रालयको जिम्मेवारी दिने कुरामा पूर्ण पाठ नचाहिने बताउनुभयो । ‘पूर्णपाठ किन चाहियो पुराण वाचन गर्ने हो र ?’ उहाँले भन्नुभयो ।
ओलीले राष्ट्रपति निर्वाचन र गृह मन्त्री चयनको विषयले सरकार संकटमा नपर्ने पनि बताउनुभयो । ‘तपाईंहरुले प्रश्न गरे जस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ उहाँले सत्ता गठबन्धन दलहरु बिच छलफल भइरहेको भन्दै खटपट नभएको पनि बताउनुभयो ।