टिकापुर हत्याका दोषी छुटाउन नागरिक उन्मुक्तिको सत्ता लेनदेनले सुदुरपश्चिम सरकार ढल्यो

काठमाडौं, २६ माघ । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले साथ नदिदाँ एक महिनामै अल्पमतमा परेको छ भने मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन सक्नु भएन ।
प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत माग्दै रावलले गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि उहाँले प्रदेश प्रमुखसमक्ष राजीनामा दिनुभयो । उहाँले संसदीय प्रणालीलाई स्वीकार गर्दै राजीनामा दिएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभयो ।
गत पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बन्नुभएको थियो । तर, नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई उन्मुक्ति दिनुपर्ने अडानबाट टसमस नभएपछि गठबन्धनको सरकार ढलेको हो ।
प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएका शाहले भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आत्मसमर्पण नगर्ने भन्दै आफ्ना सांसदहरुलाई विश्वासको मत दिनबाट रोकेपछि सरकार ढलेको हो ।