महानगरले डोजर हानेर भत्काएको औषधी पसलमा अहिले बाइक पार्किङ !

काठमाडौं, २ फागुन । डेंगुको महामारी चलिरहेको समय । मानिसहरू विरामी जँचाउने र औषधी किन्ने काममा दौडिँदा दौडिँदै नै बेफुर्सदी बनिरहेको अवस्था ।

यस्तो समयमा देशकै सबैभन्दा ठूलो अस्पताल वीर अस्पतालको ठीक सामुन्ने रहेको अत्यन्त व्यस्त औषधी पसलमा काठमाडौं महानगरपालिका भने डोजर चलाउँदै थिए ।

महानगरमा फैलिएको डेंगु नियन्त्रणको कामलाई एकातिर पन्छाएर महानगरपालिका औषधी पसलमाथि डोजर चलाइरहेको देखेर धेरैलाई आश्चर्य लागेको थियो । महानगरपालिका यो के गरिरहेछ भनेर धेरैले बुझेको पनि थिएन ।

सडकमा टहरा बनाएर निकालिएको उक्त पसलले नगरको शोभा बिगारे भन्दै महानगरपालिकाले औषधी पसल हटाउन पसलमाथि नै डोजर हानेका थिए । तर डोजर चलाउँदा पसलको शटर मात्रै भत्काए, ढलान गरिएको टहरा भने जस्ताको तस्तै छोडे ।

त्यसरी छोडिएको टहरा अहिले भने मोटरसाइकल पार्किङ गर्ने खुल्ला ठाउँमा रुपान्तरण हुन पुगेको छ । डोजर हानेर शटर भत्काइएको टहरा अहिले झ्वाट्ट हेर्दा व्यस्त बजार बीचको खण्डहर जस्तो देखिन्छ । अहिले त्यही ठाउँमा पार्किङ चलाउने कर्मचारीहरूले मोटरसाइकल पार्क पनि गर्न थालेपछि यसले नगरको शोभालाई झनै बिगारिदिएको छ ।

महानगरपालिकाका मेयर बालेन साहको आदेशमा डोजर चलाउँदा त्यहाँ राखिएका औषधी पसलेहरूलाई अत्यन्तै कम मात्रै समय दिइएको थियो । उनीहरूले त्यहाँ खोलिएको टेण्डर पारेर पसल खोलेका थिए । त्यहाँ एक पसल कवलको भाडा मासिक १ लाख ५० हजारभन्दा बढी लाग्ने गर्दछ ।

वीर अस्पताल सामुन्नेको यो पसल कवलहरू अहिले डोजर हानेर खुल्ला छोडिएका टुकुचा जस्तै देखिन थालेका छन् । महानगरपालिकाका मेयर बालेन साहले बिना कुनै योजना जथाभावी डोजर हान्दै भत्काएका विभिन्न संरचनाहरू मध्ये एक यो पनि हुन पुगेको छ ।