स्ववियु निर्वाचन शान्तिपूर्ण, सिद्धार्थबाट अनेरास्ववियुको विजयी सुरुवात (निर्वाचनको माहौल १५ तस्बिर)

काठमाडौं, ५ चैत । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस मध्ये ५० बढी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भैसकेको छ । अनेरास्ववियुले दिएको जानकारी अनुसार स्याङ्जाको सिद्धार्थ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा अनेरास्ववियुका सन्जोग थापा निर्वाचित हुँदै अनेरास्ववियुले निर्वाचनमार्फत खाता खोलेको छ । नेविसंघका विजय अधिकारीलाई ११ मतले पराजित गर्दै अनेरास्ववियुका थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

थापाले ५१ र नेविसंघका अधिकारीले ४० मत प्राप्त गर्नुभएको हो । ६२ मध्ये काठमाडौं उपत्यकाभित्रका ७ वटा र मुलुकभरीका १३ आंगिक क्याम्पसमा आज स्ववियु चुनाव हुन सकेन ।

काठमाडौं उपत्यकाका त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल) प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा आज स्ववियु चुनाव हुन सकेको छैन । यी क्यामपसहरुमा मतदाता सम्बन्धीलगायत विभिन्न विवादका कारण निर्वाचन हुन नसकेको त्रिविले जानकारी दिएको छ । उपत्यका बाहिरका पनि काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि निर्वाचन हुन सकेको छैन ।

अन्य क्याम्पसहरुमा भने अहिले मतदान भैरहेको छ । यो निर्वाचनमा नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियु, नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ, नेकपा समाजवादी निकटको अनेरास्ववियू, माओवादी निकटको अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठन मैदानमा छन् । विसं २०७३ मा उपत्यकाका नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो । त्यसपछि कुनै पनि क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनका कारण अहिले सबै विद्यार्थी संगठन एकै पटक चुनावी माहोलमा होमिएपछि त्यसको सरगर्मी पनि ह्वात्तै बढेको छ । स्ववियु निर्वाचनको इतिहासमा कहिल्यै दोस्रो नभएको अनेरास्ववियु यो पटक पनि इतिहासको विरासत जोगाउने प्रयासमा लागेको छ । अहिले मुलुकको राजनीतिकको धेर–थोर तरंग विद्यार्थी संगठनमा पनि देखिने भएकाले धेरै क्याम्पसहरुमा राष्ट्रिय राजनीतिको गठबन्धन जस्तै गठबन्धन बनाएर स्ववियु निर्वाचनमा होमिएको अवस्था छ ।

धेरै क्याम्पसहरुमा नेविसंघ, अखिल क्रान्तिकारीलगायतको गठबन्धन बनेको छ भने अधिकांश क्याम्पसमा अनेरास्ववियु एक्लै चुनावी मैदानमा छ । मुलुकभरी नै २०६५ देखि स्ववियु निर्वाचन नियमित हुन सकेको छैन ।

बिहान ८ बजेदेखि नै मतदानका लागि विद्यार्थीहरु सहभागी छन् । क्याम्पस परिसरमा विद्यार्थी संगठनहरुले आ–आफ्नो पक्षमा माहौल सिर्जना गरिरहेका छन् । अधिकांश क्याम्पसमा अहिलेसम्म शान्तिपूर्ण रुपमा निर्वाचन भैरहेको अनेरास्ववियुका महासचिव नरेश रोकायले जानकारी दिनुभयो ।