प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडाैं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको आज बिहानकाे छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा दुवैबीच छलफल भएको सचिवालयले जनाएकाे छ ।

६ चैतमा भएकाे प्रतिनिधिसभाको बैठकबाट प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन पेश भएको थियो । त्यसमा १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

जुन मस्यौदा ‘विगतमा सभामुखले प्रयोग गर्दै आएका तजबिजी अधिकार कटौती गर्ने’ संशोधन प्रस्ताव सत्तारुढ दलहरुका सांसदहरुबाट परेको छ ।

प्रधानमन्त्री प्रचण्डले सभामुखको तजबिजी अधिकार कटौती हुने गरी संशोधन प्रस्ताव ल्याएर सभामुखको अधिकारमा कार्य व्यवस्था समितिको परामर्शका नाममा अंकुश लगाउन खोजिएको छ ।

भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।