ललितपुर महानगरमा पनि नेपालभाषाको माध्यमबाट स्थानीय विषय
ललितपुर, २२ चैत । ललितपुर महानगरपालिका अन्तर्गत रहेका सबै विद्यालयहरूमा आउँदो शैक्षिक सत्रदेखि नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन गराउने भएको छ । यसको लागि आवश्यक पाठ्यपुस्तक तयार भइसकेको छ भने अब केही दिनमै छापिने तयारीमा रहेको बताइएको छ ।
उपप्राध्यापक तुलसीलाल सिंको संयोजकत्वमा बनाइएको पाठ्यपुस्तक निर्माण समितिले आफ्नो काम सकाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई तयार भएको पाठ्यपुस्तक हस्तान्तरण गरिसकेको छ ।
पाठ्यपुस्तक ग्रहण गर्नुहुँदै मेयर महर्जनले यही शैक्षिक सत्रदेखि ललितपुरका सरकारी र निजी सबै विद्यालयहरुमा यसको पठनपाठन गराउने बताउनुभयो ।
ललितपुर महानगर क्षेत्र भित्र सरकारी ४० र निजी करिब ३०० विद्यालयहरू सञ्चालित छन् । ललितपुर महानगरपालिकाले अहिले बालविकास तहदेखि कक्षा ३ सम्म यो पाठ्यपुस्तक पढाउन लागेको हो । तल्लो तहदेखि पढाउँदा विद्यार्थीहरूलाई भाषा सिक्न पनि सहयोग मिल्ने बताइएको छ । पछि क्रमशः माथिल्लो कक्षाहरूमा पनि पढाउँदै जाने महानगरपालिकाको योजना छ ।
‘यल ललितकलाया देय्’ नाम दिइएको उक्त पाठ्यपुस्तकमा ललितपुरको जात्रापत्र, संस्कृति, सम्पदा, रहनसहन आदि जस्ता विषयवस्तुसँग सम्बन्धित पाठहरू समावेश गरिएको छ ।
ललितपुर महानगरपालिकाका प्रवक्ता, सामाजिक विकास विभाग संयोजक एवं लपु मनपा वडा नं. ९ का अध्यक्ष राजु महर्जनले तयार भइसकेको पाठ्यपुस्तक अब छिट्टै छपाइको लागि पठाउने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले गत दुई वर्ष अघि नेपालभाषाका माध्यमबाट स्थानीय विषयको पठनपाठन शुरु गरिसकेको छ भने कीर्तिपुर नगरपालिकाले गत वर्षदेखि शुरु गरेको हो । आउँदो शैक्षिक सत्रदेखि ललितपुर महानगरपालिकाले पनि स्थानीय विषयको पठनपाठन शुरु गर्न लागेको हो ।
मुलुकमा संघीय व्यवस्था लागू भइसकेपछि जारी भएको नयाँ संविधानले हरेक पालिकाहरूलाई आफू मातहतका विद्यालयहरूमा एक विषय आफैले पाठ्यक्रम तयार गरी पढाउन सक्ने अधिकार प्रदान गरेको छ । सोही अधिकार प्रयोग गरी विभिन्न नगरपालिका र गाउँपालिकाहरूले आफैले पाठ्यक्रम तयार गरी लागू गर्दै आइरहेको छ ।