अस्थायी बसोबासको टुङ्गो नलागेपछि टेन्ट टाँगेर थातथलो फर्किए टिमुरेका बाढीपीडित

रसुवा, २ मंसिर । ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवाको टिमुरेका बाढीपीडित आफ्नै गाउँ फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् ।

गत भदौ १० गतेको बाढीबाट विस्थापित ६८ घरधुरीमध्ये ४८ जना मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन् । बाढीपछि केही पीडित भाडाको कोठामा र केही काठमाडौंमा बस्दै आएका थिए ।

स्थानीय कामीनुर्पु तामाङका अनुसार जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले उनीहरू गाउँ फर्किएका हुन् । खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्ने सोचसहित गाउँ फर्किएको उनले बताए ।

सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उनको भनाइ छ । विभिन्न सङ्घसंस्थाले टेन्ट तथा राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएको उनले जानकारी दिए । उनका अनुसार करिब ९० प्रतिशत बाढीपीडित काठमाडौंमा बस्न सक्ने अवस्थामा छैनन् ।

स्थानीय पेमा दोर्जे घलेका अनुसार यसअघि मुस्ताङ गुम्बामा ४११ जना बाढीपीडितले आश्रय लिएका थिए । तीमध्ये २०७ पुरुष, २०४ महिला, १५१ बालबालिका र ८० जना वृद्धवृद्धा थिए ।

सरकारले विस्थापितको अस्थायी बसोबास व्यवस्थापनबारे ठोस निर्णय नगर्दा पीडितले अझै अनिश्चितता भोग्नुपरेको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *