दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं, २ मंसिर । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमा पुनर्बहाली गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि विपक्षीलाई समेत बोलाउने आदेश दिएको छ ।

सर्वोच्च अदालतको वेबसाइटमा कारण देखाउ आदेश जारी भएको र अन्तरिम आदेशबारे छलफलका लागि बोलाइएको उल्लेख भए पनि लिखित आदेश सार्वजनिक भइसकेको छैन । विपक्षीले कुन समयसीमाभित्र जवाफ पेस गर्नुपर्ने र अन्तरिम आदेशबारे छलफलका लागि कुन मिति तोकिएको भन्ने खुल्न बाँकी छ ।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बैठकले मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध कार्कीले आफूलाई प्रहरी महानिरीक्षककै पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि पहिलो सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *