सुदूरपश्चिका पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या

कैलाली, ११ वैशाख । सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन ।

रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन । पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालक किसानको भनाइ छ ।

गाई गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने, नाकबाट सिँगान बग्नेलगायतका लक्षण देखा पर्ने गरेको छ । घाउमा किरा पर्ने र पशुको मृत्यु हुने गरेको छ । पशु चिकित्सकका अनुसार सो रोगबाट सङ्क्रमित भएका दुधालु पशुले दूध घटाउँदै लैजाने गर्दछन् ।

गत वर्ष लम्पी स्कीन रोग कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का व्यावसायिक रुपमा गाईपालनमा लागेका किसानको फार्ममा देखा परेको थियो । हाल यो रोग व्यापकरुपमा फैलिएको छ ।

सुदूरपश्चिमका कैलाली कञ्चनपुरदेखि पहाडी र हिमाली जिल्लामा लम्पी स्कीन रोग देखा पर्न थालेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा नरेश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म यस रोगबाट प्रदेशका नौवटै जिल्लामा दश हजार बढी पशु सङ्क्रमित भएका छन् । एक सय बढी पशुको यसै रोगका कारण मृत्यु भइसकेको छ ।

“रोगको सङ्क्रमण फैलिन नदिनका लागि किसानले सजग हुनु पर्छ”, उहाँले भन्नुभयो, “रोग देखा परेका गाई गोरुलाई अलग्गै राखी सरसफाई गर्ने र आवश्यकताका आधारमा पशु चिकित्सक वा प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ ।” सरुवा रोग भएकाले अरु पशुमा सङ्क्रमण फैलिन नदिनका लागि पशुपालक किसानलाई रोगबारे जानकारी दिने र निदानका उपायबारे जानकारी दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी यस रोगबाट गाई, गोरु र बाच्छाबाच्छी प्रभावित भएका छन् । थोरै भैँसीमा समेत यो रोग देखा परेको छ । भारतीय घुमन्ते व्यापारीले बिक्रीका लागि ल्याउने पशुबाट यो रोग फैलिएको आशंका स्थानिय पशुपालकले गरेका छन् ।

लम्पी स्कीन रोग विशेष गरी लामखुट्टे, टोक्ने झिङ्गा(स्टोमोक्सीस), किर्नालगायतबाट सर्ने गर्दछ । यस रोगको ठोस उपचार पद्धति नभएकाले लक्षणका आधारमा पशुको उपचार गरिन्छ ।