खुला दिसामुक्त घोषणा भएको छ वर्षपछि पनि महोत्तरीका १५.४ प्रतिशत घरपरिवार शौचालयविहीन

महोत्तरी । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ वर्षभन्दा बढी भइसक्दा पनि महोत्तरीका मुसहर, बाँतर, डोम र हलखोर समुदायका नागरिक खुला स्थानमा शौच गर्न बाध्य छन् । गरिबी, अशिक्षा र शौचालय निर्माणका लागि पर्याप्त जग्गा अभाव हुँदा यी समुदायको सरसफाइ तथा स्वच्छतामा पहुँच पुग्न सकेको छैन ।

आज (१९ नोभेम्बर) विश्वभर ‘सुरक्षित शौचालय : समान भविष्य’ भन्ने नाराका साथ विश्व शौचालय दिवस मनाइँदै छ । तर, दिवस मनाइरहँदा महोत्तरीका सीमान्तकृत समुदायका बस्तीमा शौचालयको आधारभूत सुविधा अझै पुग्न सकेको छैन ।

महोत्तरीका कुल एक लाख ४० हजार ७३० घरपरिवारमध्ये १५.४ प्रतिशत घरपरिवार अझै शौचालयविहीन रहेको तथ्याङ्कले देखाएको छ । नेपाल २०७६ असोज १३ गते (३० सेप्टेम्बर २०१९) खुला दिसामुक्त राष्ट्र घोषणा भएको थियो ।

विगतमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक सङ्घसंस्थाको साझेदारीमा स्थानीय तहले सरसफाइ सचेतना र शौचालय निर्माण अभियान सञ्चालन गरेका थिए । विशेषगरी २०६८ देखि २०७८ सालसम्म शौचालय निर्माणले गति लिएको थियो । तर, त्यसयता अभियान प्रभावकारी रूपमा अघि बढ्न नसक्दा विपन्न बस्तीमा अपेक्षित सुधार हुन नसकेको सामाजिक गतिविधिमा सक्रिय भङ्गाहा–४ स्थित सूर्योदय सांस्कृतिक क्लबका पूर्वअध्यक्ष गोपालप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।

महोत्तरीका दलित तथा विपन्न बस्तीमा मात्र नभई व्यस्त चोकबजार क्षेत्रमा समेत सार्वजनिक शौचालयको अभाव रहेको छ । यस्तो अवस्था अन्त्यका लागि स्थानीय तहले अग्रसरता लिनुपर्ने जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लालकर्णको सुझाव छ ।

“हामीले योजनाबद्ध काम गर्ने सङ्कल्प लिँदा अब केही समयभित्रै शौचालयविहीन अवस्था अन्त्य गर्न सक्छौँ”, उहाँ भन्नुहुन्छ, “यो अभियानको मुख्य पहलकदमी स्थानीय तह (वडा समिति तथा गाउँपालिका–नगरपालिका) ले सामाजिक सङ्घसंस्थासँग समन्वय गर्दै लिनुपर्छ ।”

जग्गा र आर्थिक अभावले शौचालय निर्माणमा समस्या

महोत्तरीमा मुसहर समुदायको जनसङ्ख्या उल्लेख्य छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा मुसहर समुदायको जनसङ्ख्या २७ हजार ३५२ रहेको छ । स्थानीय तहका पछिल्ला अनुमानअनुसार यो सङ्ख्या बढेर करिब ३० हजार पुगेको छ ।

आर्थिक, शैक्षिक, सामाजिक तथा स्वास्थ्य सेवाको पहुँचबाट पछाडि परेका मुसहर समुदायका धेरै परिवार अझै शौचका लागि बस्तीभन्दा टाढाका चउर र झाडीमा पुग्नुपर्ने अवस्थामा छन् । नयाँ पुस्तामा शौचालयको महत्वबारे चेतना बढ्दै गए पनि जग्गा र आर्थिक अभावका कारण सुविधा विस्तार हुन सकेको छैन ।

भङ्गाहा नगरपालिका–४ रामनगरस्थित मुसहरी टोलका ६५ वर्षीय अगुवा जुगला सदाका अनुसार बस्तीमा शौचालयको आवश्यकता सबैले महसुस गरे पनि निर्माण गर्ने ठाउँ छैन ।

“चर्पी चाहिने हो हजुर ! तर हाम्रा यी पराले झुप्राका गुजुमुज्ज बस्तीमा दुई–चार हातको चर्पी बनाउने ठाउँ छैन”, उहाँ भन्नुहुन्छ, “दिसापिसाब गर्न चौडी (चउर) पस्नुपर्ने दिन नसकिने भए ।”

चार–पाँच वर्षअघि विभिन्न संस्थाका प्रतिनिधि बस्तीमा शौचालय निर्माण गरिदिने भन्दै आए पनि जग्गा अभावका कारण योजना कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

“हेर्नुहोस् न हाम्रा झुप्रा । आठ–१० हात लम्बाइ–चौडाइको ठाउँमा एकअर्कासँग टाँसिएर बनेका छन् । ठाउँ नै छैन”, उहाँले भन्नुभयो ।

परालको छाना र झिक्रामिक्राका भित्ताले बनेका झुप्रासमेत आफ्नो नाममा जग्गा नभएको उहाँको भनाइ छ । उक्त बस्तीमा अहिले करिब ७० घरपरिवार मुसहर बसोबास गर्छन् ।

मुसहरसँगै बाँतर समुदायको अवस्था पनि उस्तै छ । जिल्लाका अन्य स्थानीय तहमा मुसहर समुदायको बसोबास रहे पनि बाँतर समुदाय मुख्यतः भङ्गाहा नगरपालिका क्षेत्रमा बसोबास गर्छन् । यहाँका अधिकांश बाँतर बस्तीमा पनि शौचालयको सुविधा छैन ।

राष्ट्रिय जनगणना २०७८ अनुसार भङ्गाहा नगरपालिकाका २७.९ प्रतिशत घरपरिवार शौचालयविहीन छन् । पछिल्ला पाँच वर्षमा यस अवस्थामा उल्लेख्य सुधार हुन नसकेको स्थानीय सामाजिक सङ्घसंस्थाका अगुवाहरू बताउँछन् ।

नगर क्षेत्रमा बसोबास गर्ने डोम समुदायको अवस्था पनि मुसहर र बाँतरको जस्तै छ । यी समुदायका नागरिक शौचका लागि चउर, झाडी तथा सडकछेउका खुला स्थान प्रयोग गर्न बाध्य छन् ।

महिलालाई झन् बढी सास्ती

खुला स्थानमा शौच गर्नुपर्ने बाध्यताले पुरुषको तुलनामा महिलालाई थप समस्या हुने गरेको छ । बस्तीका महिला उज्यालो नहुँदै समूह बनाएर शौचका लागि बाहिर निस्कने गरेका छन् ।

भङ्गाहा नगरपालिका–३ सकरी बस्तीकी शुकनी सदाका अनुसार बस्तीमा शौचालय निर्माणका लागि आवश्यक जग्गासमेत उपलब्ध छैन ।

“के गर्नु ? हामीसँग झिक्राझिक्रीले बारबेर गरेर खाल्डो खन्ने ठाउँ पनि छैन”, उहाँ भन्नुहुन्छ ।

प्रयास महोत्तरीका अध्यक्ष प्रवीण कर्ण पनि मुसहर समुदायमा शौचालयको पहुँच नपुग्नुको मुख्य कारण जग्गा र आर्थिक अभाव रहेको बताउनुहुन्छ । सानो पराले झुप्रोमा सीमित परिवारले शौचालय निर्माण गर्न नसक्दा खुला स्थान प्रयोग गर्नुपर्ने बाध्यता कायम रहेको उहाँको भनाइ छ ।

मुसहर, बाँतर, डोम र हलखोर समुदायमा शौचालयको पहुँच सबैभन्दा कमजोर देखिएको छ । जिल्लामा मेस्तर, चमार, खत्बे र दुसाधलगायत अन्य सीमान्तकृत समुदाय पनि आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक अवसरबाट पछाडि छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार महोत्तरीको कुल जनसङ्ख्या सात लाख छ हजार ९९४ रहेको छ । जिल्लाका १५ प्रतिशतभन्दा बढी घरपरिवार अझै शौचालयको पहुँचबाहिर रहेको तथ्याङ्कले देखाउँछ ।

विश्व शौचालय दिवसका अवसरमा सरसफाइ र स्वच्छताको महत्वबारे चर्चा भइरहँदा महोत्तरीका विपन्न तथा सीमान्तकृत समुदायमा शौचालयको पहुँच विस्तार गर्नु अझै प्रमुख चुनौतीका रूपमा देखिएको छ । यसको समाधानका लागि स्थानीय तहले लक्षित कार्यक्रम, सार्वजनिक शौचालय निर्माण र सामाजिक सङ्घसंस्थासँगको सहकार्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *