अन्ततः कीर्तिपुरको करुणामय झिकियो

कीर्तिपुर, २५ वैशाख । कीर्तिपुरको गःछेँस्थित प्यंगःथांमा राखिएको रातो मत्स्येन्द्रनाथको विवादास्पद मूर्ति हटाइएको छ । हिजो साँझ ६ बजे कीर्तिपुर नगरपालिका लगायत प्रहरी, विभिन्न वडाका वडा अध्यक्ष एवं स्थानीय समुदायको रोहवरमा मूर्ति झिक्ने कार्य गरिएको थियो ।

प्यंगःथांको मन्दिरमा स्थापित रातो मस्येन्द्रनाथ र याकः मिसाको मूर्तिलाई रातो कपडाले बेरेर कीर्तिपुर नगरपालिकाको कार्यालयमा लगिएको थियो । हाललाई उक्त मूर्ति नगरपालिकाको कार्यालयमै राखिने योजना छ ।

मूर्ति हटाउने कार्यमा सहभागी पत्रकार विरेन्द्र शाक्य (विविशा) का अनुसार हाल ललितपुरमा जारी रहेको रातो मत्स्येन्द्रनाथको जात्रा पछि उक्त मूर्तिको स्थायी व्यवस्थापनबारे पुनः छलफल गरिने छ ।

रातो मस्त्येन्द्रनाथको रथ अहिले पाटनको थति टोलमा पुर्याइएको छ । थति टोलबाट जावलाखेलमा रथ तान्ने दिन पाटनका जल पानेजु नाङ्गो खुट्टा कीर्तिपुर पुगेर करुणामयको फूल प्रसाद चढाउने परम्परा रहँदै आएको छ । उक्त पूmल प्रसाद मत्स्येन्द्रनाथकी प्रेमिका भनिने गःछेँ टोलकी अविवाहित महिला लक्ष्मी महर्जनले ग्रहण गर्दै आइरहेको छ ।

मत्स्येन्द्रनाथका पानेजुहरूले यही परम्परा रोक्ने धम्की दिएपछि कीर्तिपुरमा स्थापना गरिसकेको मूर्ति हटाउने कार्य गरिएको हो । यो परम्परा विगत १६०० वर्षदेखि चल्दै आएको बताइन्छ ।

गःछेँ टोलमा राखिएको मत्स्येन्द्रनाथको मूर्ति हटाएपछि पानेजुहरूले फूल प्रसाद चढाउने परम्परालाई जारी नै राख्ने अपेक्षा गरिएको छ । तथापि हिजो बेलुकीसम्म मूर्ति हटाएको बारे पानेजुहरूको धारणा सार्वजनिक भएको छैन ।

मूर्ति हटाउने कार्य भने ससम्मान बाजागाजा सहित गरिएको थियो । गःछेँबाट झिकिएको मूर्ति नगरपालिका कार्यालयसम्म लाँदा पनि धेरै मानिसहरू सँगसँगै गएका थिए ।

स्थापना गरिसकिएको मूर्ति नहटाउन स्थानीय सुखी गःछेँ समाजले अडान लिँदै आइरहेको थियो । मूर्ति हटाउन पानेजु संघ मात्र होइन, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, पुरातत्व विभाग, गुठी संस्थानले समेत अनुरोध गर्दा पनि गःछेँ समाजले त्यसलाई अस्वीकार गरेको थियो ।

यसै बीच गःछेँ टोलकै युवाहरूको अर्को संगठन गःछेँ पासा पुचःले कीर्तिपुरमा प्रचलित रातो मत्स्येन्द्रनाथको सदियौं पुरानो परम्परा नै बन्द हुने अवस्थामा पुगेका कारण मूर्ति हटाउनु नै उत्तम हुने आग्रह सहित हस्ताक्षर संकलन शुरु गरेको थियो ।

हिजो कीर्तिपुर नगरपालिकामा बसेको बैठकले समय धेरै घर्किसकेका कारण अब विलम्ब गर्नु हुन्न भनी मूर्ति हटाउने कार्यलाई अघि बढाएको थियो । मूर्ति हटाउने कार्यलाई कसैले अवरोध गरेको थिएन कसैबाट आलोचना पनि भएको थिएन ।

गत मंसिर १५ गते ललितपुरको महाबुद्धबाट जात्रा सहित उक्त मूर्ति कीर्तिपुर ल्याइएको थियो । मूर्ति बनाउन काठमाडौं महानगरपालिकाले १७ लाख रुपैया उपलब्ध गराएको थियो भने मूर्ति पाटनकै युवा मूर्तिकार रवि शाक्यले निर्माण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *