एमाले सबै प्रकारका भ्रष्टाचार छानबिन गर्न तयार छ : महासचिव पोखरेल

काठमाडाैं, १ जेठ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरणमा राष्ट्र र राष्ट्रियतामाथि घात भएकाे बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको ३४ औ स्थापना दिवसकाे अवसरमा आज आयोजित कार्यक्रममा उहाँले शरणार्थी प्रकरण ठगी मात्र नभएर राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अपमान भएको बताउनुभएकाे हाे ।

“नेपाल राष्ट्र आफैँ मानव तस्करीका लागि काम गर्दछ भन्ने जुन प्रकारको सन्देश गएको छ, त्यो राष्ट्रका लागि लज्जाको विषय भएको छ,” उहाँले भन्नुभयो ।

बदमासी एउटाले गर्ने सङ्केत अर्कोतिर देखाउने काम भइरहेको भन्दै उहाँले अपराधमा जो–जो संलग्न रहेका छन्, तिनीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।

शरणार्थी प्रकरणसम्बन्धी घटनामाथि भइरहेको छानबिनलाई राजनीति नगर्नसमेत महासचिव पोखरेलले आग्रह गर्नुभयो । उहाँले मुलुकलाई सुशासनतर्फ लैजानका लागि सबै प्रकारका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले एमाले सबै प्रकारका भ्रष्टाचारका घटनाको छानबिन गर्न तयार रहेको बताउनुभयो । उहाँले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभयो ।

सुशासन, स्वतन्त्रता, स्वाभिमान र सामाजिक सुरक्षाको नेतृत्व गर्ने एमालेलाई कमजोर पार्नका लागि एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले युवा सङ्घ नयाँ युवाको बीचमा गई सङ्गठन विस्तार गर्नुपर्ने बताउनुभयो ।

उहाँले आगामी निर्वाचनमा एमालेलाई बहुमतमा ल्याउन अभियान चलाउनुपर्ने भन्दै युवामा रहेको ऊर्जालाई एमालेले मर्न नदिने बताउनुभयो । युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा लक्षित कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।