पाँच पटक म्याद थप्दा पनि कालोपत्र हुनसकेन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत लोकमार्ग

बाग्लुङ, १५ फागुन । साँढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन ।

विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म पाँच पटक म्याद थप्दा पनि उक्त सडक कालोपत्र हुन नसकेको हाे ।

निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै काम नगर्दा यहाँका स्थानीय मर्कामा परेका छन् । यस खण्डअन्तर्गत पर्ने २५ किलोमिटर मध्ये हालसम्म १४ किलोमिटर मात्रै कालोपत्र भएको छ । वर्षौँदेखि सडक कालोपत्र नहुँदा सडक वरपरका स्थानीय र यात्रुले हिउँदमा धुलो र बर्खामा हिलोका कारण सास्ती भोग्दै आएका छन् ।

विसं २०७३ मा सम्झौता गरेर कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको लोकमार्ग कार्यालयले जनाएको छ । कार्यालयका अनुसार माथिल्लो बिहुँ खण्डमा कालोपत्र गर्न एपिएस सिएफ इसिसी जेवी र तल्लो खण्डको भरत सिद्धिशाही जेभीले जिम्मा लिएको थियो ।

माथिल्लो खण्डमा काम गर्ने म्याद असार ५ गते र तल्लो अक्षते खण्डको असार २० गतेसम्म छ । बिहुँ खण्डमा निर्माण कम्पनी बेला–बेला सम्पर्कविहीन हुँदा काम हुनसकेको छैन । सडकमा काम गर्ने मजदुर र उपकरण निकै न्यून हुँदा असार अन्तिमसम्म काम सक्ने सम्भावना नरहेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका इञ्जिनीयर पवन सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार तल्लो खण्ड अन्तर्गत बागलुङ बजारदेखि अक्षतेसम्म कालोपत्र गर्ने र सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने काम भएको छ ।

इञ्जिनीयर सुवेदीले काम गर्नका लागि निर्माण व्यवसायीलाई ताकेदा गरे पनि अटेरी गरिरहेको बताउनुभयो । निर्माण व्यवसायीले काम नगर्दा यात्रुले दुःख पाउनुका साथै आफूहरुलाई पनि समय–समयमा दबाव आइराख्ने उहाँको भनाइ थियो ।

हालसम्म निर्माण कम्पनीले पाँच पटक म्याद थपेको इञ्जिनीयर सुवेदीले बताउनुभयो । गत पुसमा निर्माण कम्पनी सम्पर्कविहीन भएको र कार्यालयले ठेक्का किन नछोड्ने भनि सूचना प्रकाशन गरेपछि सम्पर्कमा आएर काम गर्ने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।

त्यस बेला काम सुरु गर्ने भने पनि अहिलेसम्म कामलाई निरन्तरता दिन नसकेको भन्दै असार २० गतेसम्म काम सम्पन्न नभए ठेक्का सम्झौता रोक्ने र विकल्प खोजिने सुवेदीले बताउनुभयो ।

स्थानीय कृष्णप्रसाद कँडेलले सम्बन्धित निकायले चसो नदिँदा ठेकेदार कम्पनीले काम गर्न आलटाल गरिरहेको बताउनुभयो । उहाँले २५औँ वर्षदेखि सडक छेउमा घर भएका नागरिकले सडकको हिलो र धुलो पन्छ्याएर दिन बिताउने गरेको गुनासो पोख्नुभयो ।

लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । हालसम्म एक सय ३१ किलोमिटर सडक कालोपत्र भइसकेको छ । सडकको दुरावस्था हुँदा दुर्घटनाको जोखिम बढेको चालक रेमबहादुर विकले बताउनुभयो । ठाउँठाउँमा ठूलाठूला खाल्डाखुल्डी हुँदा गाडी बिग्री रहने र यात्रा गर्नै कठिन हुने उहाँले गुनासो पोख्नुभयो ।