देशभर मनसुनी वायुको प्रभाव, कहाँ के के हुँदैछ?
काठमाडाैं, ११ असार । मनसुनी वायुको प्रभाव देशभर रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रहेको छ।
अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ-गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशका धेरै भूभागहरू र बाँकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना छ।
कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा राती मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।