नवलपरासीकाे गैँडाकोटमा नगर अस्पताल निर्माणमा ढिलाइ
नवलपरासी (बर्दघाट–सुस्तापूर्व), १९ साउन । गैँडाकोटमा नगर अस्पतालको १५ शय्या क्षमताको भवन निर्माणमा ढिलाइ भएको छ ।
सम्झौताअनुसार अस्पताल निर्माण गर्ने समय सकिएर म्याद थप गर्दा पनि कामले गति लिन सकेको छैन ।
विसं २०८० जेठ १३ गतेभित्र भवन निर्माण सम्पन्न गर्नेगरी काठमाडौँको ड्रागन कन्स्ट्रक्सन प्रालिले विसं २०७८ जेठ १४ मा ठेक्का सम्झौता गरेको थियो ।
निर्धारित समयमा भवन निर्माण सम्पन्न नभएपछि आगामी फागुन १३ गतेसम्मका म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले बताउनुभयो । उहाँका अनुसार हालसम्म २३ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।
भवन निर्माणका लागि गैँडाकोट छनौट भएपछि सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो । अत्याधुनिक १५ शय्या क्षमताको भवन निर्माणका लागि निर्माण पक्षसँग रू १२ करोड १५ लाख ७८ हजार सम्झौता भएको प्रवक्ता तिवारीले बताउनुभयो । उहाँका अनुसार सम्झौताअनुरुप तीन छुट्टाछुट्टै भवन निर्माण गर्नुपर्नेछ ।
तीनमध्ये एउटाको पहिलो तला ढलान भएको, एउटाको डिपिसी मात्रै गरिएको छ भने तेस्रो भवनको डिपिसीका लागि खाल्डो मात्रै खनिएको नगरपालिकाका पूर्वाधार शाखाप्रमुख इन्जिनियर निरजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
अस्पताल परिसरमा रहेको बुद्ध मूर्ति र गुम्बालाई स्थानान्तरण गर्न समय लागेकाले निर्माणमा ढिलाइ भएको निर्माण पक्षको दाबी छ । सम्झौता अवधिभित्र कार्य सम्पन्न नहुनाका १३ कारण पेस गरी निर्माण पक्षले म्याद थपको माग गरेको थियो ।