सभामुख, प्रधानमन्त्री भेटवार्ता: सहमतिका लागि प्रयास गर्ने

काठमाडौं, १ भदाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्नुभएकाे हाे ।

छलफलमा सभामुख घिमिरेले सदन निरन्तर अवरोध हुनु राम्रो नभएको बताउनुहुँदै पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएकाे छ ।

आइतबार बिहान भएको छलफलमा सभामुख घिमिरेले सदन सञ्चालन हुन नसक्दा प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा सांसदहरूले बोल्न नपाएको गुनासो बढेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘सदन नचल्नु राम्रो भएन। माननीयहरूले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ। सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन। आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्,’ सभामुखको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्। समितिको नेतृत्व चयन हुन सकेको छैन। संसदमा कानून निर्माण भएनन् भन्ने गुनासो छ।’

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्षसंग छलफल गर्ने बताउनुभएकाे सभामुखको सचिवालयको भनाइ छ।

सुन तस्करी प्रकरणमा सरकारकै संलग्नता रहेको भन्दै नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको मागसहित निरन्तर सदन अवरोध गरिरहेको छ ।