उच्चस्तरीय छानविन समितिको मागबाट एमाले पछि नहटेपछि समिति बनाउन सरकार सहमत
काठमाडौं, ५ भदौ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने नेकपा (एमाले) को माग अन्ततः पूरा हुने भएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुबिच भएको छलफल अनुसार छानविन समिति बनाउने सहमति भएको हो ।
छलफलमा सहभागी नेकपा (एमाले) का उपाध्यक्ष समेत रहनु भएको सुवास नेम्वाङले समिति बनाउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिनुभयो । पहिला छानबिन समितिको ड्राफ्ट गर्ने र त्यसका लागि कार्यविधि तयार गर्ने सहमति भएको हो । त्यसका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा एमालेका तर्फबाट सुवास नेम्बाङ, माओवादीका तर्फबाट हितराज पाण्डे र नेपाली कांग्रेसका तर्फबाट रमेश लेखक रहनु भएको छ ।
उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने र त्यसमा सरकारी वकिल लगायत सदस्य रहनेछन् । उपाध्यक्ष नेम्बाङका अनुसार मन्त्रिपरिषद बैठकले त्यसको कार्यविधि पारित गर्नेछ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेको भन्दै अर्को समिति बनाउनु नपर्ने सरकारको मागप्रति असन्तुष्ट बन्दै आएको एमालेले सुन तस्करीको छानविनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ । अब समिति बन्ने भएपछि संसद खुल्ने निश्ति जस्तै देखिएको छ ।