प्रतिनिधि सभा बैठकमा आजकाे कार्यसूची यस्तो छ

काठमाडाैं, ६ भदाै । प्रतिनिधि सभा बैठक आज अपराह्न तीन बजे बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नलागेकाे हाे । संसदमा आजदेखि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै साउन १० देखि लगातार संसद अवरूद्ध गरेपछि सोमबार राति छानबिन समिति बनाउन सरकार तयार भएको थियो।

उच्चस्तरीय जाँचबुझ आयोग बनाउन सत्ता र प्रतिपक्षी दल सोमबार बेलुकी सहमत भएका थिए। तर सर्वदलीय बैठकबाट यो निर्णय पारित नभएका कारण हिजो बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको थियो।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यस्तै प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफरे गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउनेलगायतको कार्यसूची आजको बैठकको छ।