एमसीसी र बीआरआईबाट मुलुकलाई फाइदा हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे

काठमाडौं, १६ भदाै। सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट मुलुकलाई फाइदा हुनेगरी लाभ लिनुपर्ने बताउनुभएकाे छ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट मुलुकलाई फाइदा हुनेगरी लाभ लिनुपर्ने बताउनुभएकाे हाे ।

उहाँले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने ? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभयाे । एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनताको हितमा प्रयोग गर्न उहाँले आग्रह गर्नुभयाे ।

‘आज विश्वका शक्ति राष्ट्रहरु अमेरीकाले एमसीसी लगायतका कार्यक्रमहरु बिस्तार गरेर नेपाल जस्ता पछि परेका मुलुकहरुलाई सहयोग गर्ने कोशिस गरिरहेको छ । त्यसरी नै बिआरआईबाट जनताको जीवनलाई सरल बनाउने र त्यस्ता मुलुकलाई सहयोग गर्ने ढंगबाट चीनले कार्यक्रमहरु लिएर आइरहेको छ’ । उहाँले भन्नुभयाे, ‘नेपालले यी दुई वटै कार्यक्रमहरुबाट नेपाली जनताको हीतमा कसरी जाने ? नेपाल राष्ट्रका राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी लिनसक्छ ? यो एउटा प्रतिष्पर्धात्मक अवस्थामा हामीले गम्भीरताका साथ लिनुपर्ने बेला आएको छ ।’

उहाँले भौगोलिक विकटताका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताउनुभयाे। सभामुख घिमिरेले राजनीतिक बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै यसका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभयाे ।