६० केजी सुन तस्करी प्रकरणपछि विमानस्थलका कर्मचारी आन्दोलित भन्सारका सबै काम आजदेखि ठप्प

काठमाडौं, २५ भदाै । ६० केजी सुन तस्करी प्रकरणपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दाेलित भएका छन् ।

सुन तस्करी प्रकरणपछि भन्सारमा कार्यरत कर्मचारीले सामूहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनुवाई नभएपछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन ।​

भन्सारमा कार्यरत कर्मचारीहरूले सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका हुन् । ६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ ।

कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका छन् । आज पनि माग सम्बोधन नभए भोलि पनि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरेका छन् ।

भदौ २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।

६० केजी सुन तस्करी प्रकरणपछि भन्सार कार्यालयका कर्मचारीहरू धमाधम पक्राउ परेपछि भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर, आफ्नो माग दुई साता लागिसक्दा पनि सुनुवाई नभए पछि आइतवारबाट उनीहरु आन्दोलनमा उत्रेकाे जनाइएकाे छ ।

उनीहरुले पहुँचका आधारमा राजनीतिक नेतृत्वलाई जोगाउने तर कर्मचारीलाई भने त्रसित बनाउन सरकार उद्यत रहेको गम्भीर आरोप लगाएका छन ।