राष्ट्रलाई चक्मा दिएर रुवाउँदै अस्ताए सुवास, नेम्वाङको मृत्युमा कस्ले के भने ?
काठमाडौं, २६ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि एमाले मुख्यालयमा राखिने भएको छ । उहाँको हृदयघातबाट निधन भएको हो । बालुवाटारस्थित निवासमै उहाँको हृदयघात भएको थियो । त्यसपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा निधन भएको हो । उहाँलाई साढे १ बजे हृदयघात भएको र अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङको परिवारले जानकारी दिएको छ । उहाँको मृत्युपछि राजनीतिक वृत्तमा समेत सन्नाटा छाएको छ । विभिन्न राजनीतिक दलका नेताहरुले उहाँको मृत्युमा शोक व्यक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ। ‘दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु,’ उहाँले भन्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको उल्लेख गर्नुभएको छ ।
‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’ उहाँले भन्नुभएको छ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उहाँले लेख्नुभएको छ, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले मर्माहत भएको उल्लेख गर्नुभएको छ । ‘आज बिहान १ ः३० बजे अप्रत्यासित निधनले मर्माहित भएको छ । उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ । प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ उहाँले भन्नुभएको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हार्दिक श्रद्धान्जली कमरेड सुवास भन्दै लेख्नुभएको छ– ‘संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष, प्रतिनिधिसभाका सदस्य एवम् म सॅग लामो राजनीतिक सहकार्य गर्नभएका कमरेड सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनायो । एक निडर र इमान्दार राजनीतिकर्मीका रूपमा विद्यार्थी राजनीति हॅुदै कोअर्डिनेशन केन्द्र, नेकपा (माले) र नेकपा (एमाले) पार्टी निर्माण एवम् विस्तारमा उहॅाले लिनुभएको पहलकदमी, खेल्नुभएको भूमिका, दिनुभएको योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू मेरो मानसपटलमा ताजै रहेका छन् । केवल पार्टी निर्माणमा मात्र नभई व्यवस्था परिवर्तन, समाज रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ भन्ने दृढ मान्यता सहित सिंगो जीवन नै संघर्षमा होम्नुभएका कमरेड नेम्बाङसॅग राजनीतिक र सामाजिक जीवनका अनेकौं सहज एवम् असहज परिस्थितिमा भएका सहकार्यहरू संझिएको छु र उहॅाको भूमिका प्रति उच्च सम्मान प्रकट गर्दछु । कमरेड नेम्वाङको पार्थिक शरीर भएको स्थान त्रिवि शिक्षण अस्पताल र उहॅाको निवासमा पुगेर पार्थिक शरीर एवम् परिवारजनलाई भेटेर भर्खर फर्किदै छु, जन्मपछि मुत्यु शास्वत सत्य भएपनि अकस्मात र अकल्पनीय रूपमा भएको निधनलाई देखेर भारी मन सहित लेख्दैछु ‘हार्दिक श्रद्धान्जली कमरेड सुवास’ ! शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना’
एमाले वरिष्ठ नेता ईश्वर पोखरेलले नेम्वाङको निधन दुःखद आकस्मिक भएको भन्दै निधनबाट नेकपा (एमाले) ले आफ्नो सम्मानित नेता मात्र गुमाएको उल्लेख गर्नुभएको छ । ‘एउटा मृदुभाषी, शालीन, सन्तुलित, संधै विधिसम्मत चल्न चाहने व्यक्तित्वका धनी सहयोद्धालाई समेत एमालेले गुमाएको छ कमरेड सुवास आफ्ना योगदान, विचार तथा विशेषता सहित बाँचिरहनु हुनेछ ! हार्दिक श्रद्धान्जली !शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना !’ भन्नुभएको छ ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ‘कस्तो अपत्यारिलो ! दुःखद खवर, कमरेड सुवास नेम्वाङको दुखद निधन !हार्दिक श्रद्धाञ्जली !’ भनेर लेख्नुभएको छ ।
एमाले उपमहासचिव प्रदीपज्ञवालीले पनि अकल्पनीय, अपूरणीय र अत्यन्त दुखद भन्नुभएको छ । ‘नेकपा (एमाले) का आदरणीय उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्बाङको निधन भएको छ । यस निधनले नेपाली कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा पुगेको क्षति अपूरणीय रहेको छ । यो रिक्तता कहिल्यै पुरिने छैन । हार्दिक श्रद्धाञ्जली सुवास दाइ’ भन्नुभएको छ ।
एमाले सचिव योगेश भट्टराइृले सामाजिक सञ्जालमा लेख्नु भएको छ । सुवास दाई ! कुनै शब्द छैन ! महाप्रस्थान ! भावपूर्ण श्रद्धान्जली । एमाले नेता महेश बस्नेतले पूर्वसभामुख, नेकपा (एमाले) का उपाध्यक्ष सालिन नेता सुवासचन्द्र नेम्वाङ हामी बीच रहनु भएन । राति एक बजे मुटुमा सम्स्या देखिएकोले राति नै टिचिङ्ग अस्पताल लगिएकोमा २ बजे उपचारको क्रममा उहाँको निधन भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलन ,कम्युनिष्ट आन्दोलनमा र संबिधान लेखनमा उहाँले खेलेको भुमीका सधैनै स्मरणीय रहनेछ । हार्दिक श्रन्द्धान्जलि सुबास दाई, अलबिदा भनेर लेख्नु भएको छ ।
सचिव भट्टराईले थप लेख्नु भएको छ– ‘सुवास नेम्वाङ मन, वचन र कर्मले लोकतन्त्रवादी, विधिको शासन र कानुनी राजका अभियान्ता, संबिधानवादका मुख्य प्रवक्ता, सबैलाई सुन्ने, सहि कुरा वोल्ने नेता, संसदीय प्रणालीका अविभावक, द्वन्द्व व्यवस्थापनमा निपूर्ण, सहकार्य र सहमति निर्माणमा पोख्त, सबै जातिका लागि उत्तिकै प्रिय, शालिन र सरल व्यक्तित्व, नेपाल राष्ट्र, नेपालले अवलम्वन गरेको व्यबस्था र नेकपा एमालेका लागि अपुरणीय क्षती, समस्त नेपालीका दिल, दिमागमा नमेटिने छप छोडेर जानुभयो, फेरी पनि भावपूर्ण श्रद्धान्जली आदरणीय सुवास दाई !’
एमाले पोलिट्व्युरो सदस्य सूर्य थापाले अल विदा सुवास दाई भन्दै लेख्नुभएको छ– ‘यति छिटो छाडेर जानुभयो, स्तब्ध र मर्माहत छौं ! भावपूर्ण श्रध्दाञ्जलि।’
त्यसैगरी एमाले सचेतक महेश वर्तौलाले पनि मियो ढल्यो भन्दै समवेदना व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ– आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौ। कहिल्यै बिर्सने छैनौं ।
आदरणीय नेता सुवास नेम्वाङ ज्यु। एमाले केन्द्रीय सदस्य डाक्टर अजयक्रान्ति शाक्यले अकल्पनीय एवं अत्यन्तै दुःखद खबर भन्नुभएको छ । ‘संविधान सभाका अध्यक्ष, पूर्वसभामुख नेकपा (एमाले) का उपाध्यक्ष प्रतिनिधि सभा सदस्य माननीय सुबासचन्द्र नेम्वाङको असामयिक निधन भएको घटनाले स्तब्ध बनाएको छ,’ उहाँले लेख्नुभएको छ, ‘यस दुःखद घडीमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सुखावती भुवनमा बासहोस् भन्ने कामना गर्दछु ।’
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पनि भावपूर्ण श्रद्धाञ्जली सुवास नेम्वाङ कमरेड भन्नुभएको छ । ‘यति छिटै यस्तो लेख्नुपर्ला भन्ने कल्पना थिएन । राष्ट्रलाई चक्मा दिएर रुवाउँदै जानुभयो । मुलुकले एकजना साझा नेता गुमाएको छ । यो रिक्तता पूर्ति हुने छैन,’ उहाँले लेख्नु भएको छ ।
पूर्वराजदूत डाक्टर अञ्जान शाक्यले पनि अकल्पनीय एवं अत्यन्तै दुःखद खबर भन्नुभएको छ । ‘संविधान सभाका अध्यक्ष , पुर्ब सभामुख नेकपा एमालेका उपाध्यक्ष प्रतिनिधि सभा सदस्य माननीय सुबास नेम्वाङको असामयिक निधन भएको घटना ले स्तब्ध बनाएको छ। यस दुःखद घडीमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सुखावती भुवनमा बासहोस् भन्ने कामना गर्दछु,’ भन्नुभएको छ ।
एमाले नेतृ शान्ता चौधरीले एकबिहानै यो के सुन्नुपर्यो मन भक्कानिएको छ, हात कापिरहेको छ भन्दै आदरणीय नेताको योगदान संधै सम्झनेछौं भन्नुभएको छ ।