भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, १८ असोज। बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औँ बैठकलाई आज सम्बोधन गर्दै उहाँले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको हाे ।
प्रधानमन्त्री दाहालले सो अवसरमा प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताउनुभयो । उहाँले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनःस्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।