जलवायु परिवर्तनसम्बन्धी खोज–अनुसन्धान गर्न प्रधानमन्त्री दाहालको आग्रह
काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न काठमाडाैं विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित विश्वविद्यालयको २९औंँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न प्राध्यापक तथा अध्येतालाई अनुरोध गर्नुभएकाे हाे।
विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न निकै सराहनीय रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
काठमाडौँं विश्वविद्यालयको प्रारम्भ विज्ञान तथा प्रविधिसम्बन्धी विश्वविद्यालयका रूपमा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्ला दशकमा विश्वविद्यालयले विस्तार गरेको प्राज्ञिक दायराबाट नेपालको बहुआयामिक विकासमा योगदान मिलेको बताउनभुयो ।
विश्वविद्यालयले एक हजार शय्याको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकामा आफू अत्यन्त खुसी भएको बताउँदै उहाँले विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्ने विश्वसा व्यक्त गर्नुभयो ।
“स्थापनाको ३२औँ वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय छ, यो शुभकार्यका लागि म अग्रिम शुभकामना दिन चाहन्छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्वविद्यालयको कुलपति र प्रधानमन्त्रीको हैसियतले जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न म तत्पर छु ।”विश्वविद्यालयले सञ्चालन गरेका बहुविधागत कार्यक्रमले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेका दृष्टान्त दिँदै उहाँले आगामी दिनमा थप ऊर्जा र सिर्जनात्मकताका साथ अध्ययन र अध्यापनका कार्यक्रम लागू गर्न आग्रह गर्नुभयो ।
“नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने जुन दूरदृष्टि छ, त्यो सराहनीय एवम् आवश्यक छ”, उहाँले भन्नुभयो । आफूले आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण गर्ने आह्वान गर्दै प्रधानमन्त्री दाहालले थप अध्ययन र अनुभवका लागि विदेशमा रहनुभएका विद्वत्वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न आह्वान गर्नुभयो ।