राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी

काठमाडौं, २१ माघ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि आगामी फागुन २० गते सकिन्छ ।

पदावधि सकिएर बिदा भएलगत्तै निर्वाचन गर्ने राष्ट्रिय सभाले सम्भावित कार्यसूची तयार पारेको हो ।

शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरको सम्भावित कार्यसूची अनुसार फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुनेछ । त्यसका लागि फागुन २७ गते निर्वाचनको समय निर्धारण हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

गत माघ ११ गते रिक्त १९ सदस्यका लागि निर्वाचन भइसकेको छ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ । त्यसमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा बनेको छ ।