राप्रपाले आज प्रधानमन्त्रीलाई ४० बॅुदे ज्ञापनपत्र बुझाउँदै देशैभर प्रदर्शन गर्ने

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर देशैभर प्रदर्शन गर्ने भएको छ ।
राप्रपाले आजदेखि राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका साथै राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगाएतका विभिन्न ४० बुँदे माग राखेर प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।
काठमाडौंसहित देशभरका विभिन्न जिल्ला सदरमुकाममा आजदेखि राप्रपाले दबाबमूलक प्रदर्शन तथा कार्यक्रमगर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
आज काठमाडौंमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर र्यालीसहित दबाबमूलक कार्यक्रम गर्ने तथा देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले बताए ।