कोशीमा प्रदेश प्रमुख खापुङद्वारा सरकार गठनको आह्वान

मोरङ, २७ वैशाख । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उहाँले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयबाट बुधबार राति जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि यही वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ ।

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले समय सीमा दिइएको थियो । संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए । तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा कार्की रहेपछि एमाले माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

सरकार गठनको आव्हान भएलगत्तै एमाले-माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग लिएर बहुमत सदस्यको दाबी गर्ने तयारी गरेका छन् ।

संसदको यो कार्यकालमा योसहित सरकार गठनको छैटौं पटक सरकार गठनको आव्हान भएको हो । यसअघि कोशीमा २ पटक हिक्मत कार्की, २ पटक उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् । केदार कार्की असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश प्रमुखको कार्यालयबाट निकालिएकाे प्रेस विज्ञप्तिमा भनिएको छ । “संविधानबमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ ।”