कांग्रेसको विरोधका बीच नीति तथा कार्यक्रम पारित

काठमाडौं, १३ जेठ । प्रतिनिधि सभामा विपक्षी दल कांग्रेसको विरोध र नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रबार संसदमा पेस गर्नुभएकाे थियाे ।

आजको बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका थिए । तर नाराबाजीकै बीच नीति तथा कार्यक्रममा छलफल गरी पास गरिएको हो ।

बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले संशोधन प्रस्तावलाई अस्वीकृत गर्नुभएकाे थियाे। लगत्तै नीति तथा कार्यक्रम बहुमतले पारित गरेको सभामुखले घोषणा गर्नुभयाे ।

सहकारीको रकम हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाे छ ।