काठमाडौंका यी स्थानहरूमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडाैं, २६ जेठ । काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरेर बबरमहल फिडर अन्तर्गत विभिन्न स्थानहरूमा ६ घन्टा विद्युत अवरूद्ध हुने जनाएकाे हाे ।

प्राधिकरणका अनुसार सैनिक मुख्यालय, सुन्धारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय आसपास आज ६ घन्टा विद्युत अवरूद्ध हुने जनाएको छ।

प्राधिकरणले आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ती क्षेत्रहरूमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने जनाएकाे हाे ।

मौसम प्रतिकूल रहेको अवस्थामा भने विद्युत आपूर्ति बन्द नहुने पनि प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सोमबार कालिकास्थान, बुधबार भीमसेनस्थान, ३२ गते गैरीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी फिडर अन्तर्गतका क्षेत्रमा विद्युत अवरूद्ध हुने पूर्वजानकारी समेत दिएको छ।